
पनौती,काभ्रे । पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सत्रौं नगर सभामा नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजार रुपैयाको बजेट ल्याएको छ । प्रति वडा १ करोड ३० लाखका दरले रकम विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भण्डारीले दिगो, भरपर्दो, तथा वातावरणमैत्री पूर्वाधारमा जोड दिने बताएका छन् । नगरपालिका भित्र पालिका गौरवको आयोजना तथा वडाभित्र कम्तीमा एक वडा एक गौरवको आयोजनाका लागि क्रमागत रुपमा बजेट विनियोजन गरिएको छ ।
पनौती शिरानचौरमा निर्माणाधिन रंगशालालाई नगरपालिकाको आन्तरिक स्रोतबाट पूर्णता दिइने नगर प्रमुख भण्डारीले बताए । पुण्यमाता खोला किनारमा वृक्षारोपण कार्यक्रम सञ्चालन, रोजगार सेवा केन्द्रलाई रोजगार बैंकका रुपमा विकास गर्ने नगरपालिकाको नीति छ । शिक्षण सिकाईमा इ–लर्निङ कक्षा सञ्चालन, जहाँ विद्यार्थी त्याहाँ शिक्षक लगायतका कार्यक्रम नगरपालिकाले ल्याएको छ । नगर सभामा उपप्रमुख गिता बञ्जाराले आर्थिक वर्ष २०८२/८३ को आय व्यय सहितको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
सामाजिक विकास कार्यक्रम अनतर्गत क्षमता अभिवृद्धि लगायतका कार्यक्रम अन्तर्गत प्रति वडा १० लाखका दरले बजेट वितरण गरिएको छ । कृषि विकाससँग सम्बन्धी कार्यका लागि १ करोड २० लाख, पशुपंक्षी सम्बन्धी कार्यक्रम सञ्चालनका लागि २ करोड ६५ लाख, स्वास्थ्य क्षेत्रमा ३ करोड २० लाख बजेट विनियोजन गरिएको उप–प्रमुख गिता बञ्जाराले बताइन् ।
देव समानका बृद्ध मातापिता भन्ने आदर्श धारण गर्दै नगर क्षेत्र भित्रका ७० वर्षमाथीका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचारका लागि घरमा नै गई स्वास्थ्य उपचारको व्यवस्था मिलाइने नीति नगरपालिकाले लिएको छ ।
वडा नम्बर ७ को संरक्षित स्मारक क्षेत्रभित्रका संपदामैत्री घर संरचना निर्माण, मर्मत कार्यमा प्रोत्साहन गर्न र विश्वसम्पदा सुचीमा सूचीकृत सम्बन्धी कार्यलाई प्रभावकारी रुपले अघि बढाउने नगरपालिकाको नीति कार्यक्रममा उल्लेख छ ।
