
काठमाडौं।नेकपा (एमाले्) को ५३ औं सचिवालय बैठक यही असार ११ गते बस्ने तयारी गरेको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले असार ११ गते बैठक बस्ने तयारी भइरहेको बताए। पार्टी महासचिव शंकर पोखरेल बेलायत र कतारका विभिन्न कार्यक्रममा सहभागी हुन त्यता गएकाले बैठक बस्न ढिलाइ भएको हो।
पार्टी महासचिव पोखरेल जेठ २९ गते बेलायत प्रस्थान गरेका थिए। उनको १० दिनको भ्रमण तालिका छ।
अब बस्ने सचिवालय बैठकले विधान महाधिवेशनको तयारीबारे निर्णय गर्नेछ। एमालेको गत माघ ८ गते बसेको ४२ औं सचिवालय बैठकले भदौ २० देखि २२ गतेसम्म ललितपुर गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो।
एमालेको विधानअनुसार दसौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै विधान महाधिवेशनका प्रतिनिधि हुनेछन्।
एमालेमा अहिले उमेर हद र कार्यकालसम्बन्धी प्रश्न पेचिलो बनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उमेर हद फेल खाइसकेको र कार्यकालको बहस पनि असान्दर्भिक भइसकेको बताउँदै आएका छन्।
एमालेले दसौं महाधिवेशनमा कार्यकारी पदमा ७० वर्ष उमेर हद राखिएको थियो ।
नवौं महाधिवेशनमा भने कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधान राखेको थियो। २०७८ असोजमा भएको विधान महाधिवेशनले कार्यकालसम्बन्धी प्रावधान राखेन।
उमेरहदको व्यवस्था पनि २०८० जेठमा एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेसहितका नेताहरूलाई जिम्मेवारी दिन भन्दै स्थगित गरिएको थियो।
अहिले एमालेभित्र त्यो ब्युँताउनुपर्ने बहस बाक्लिँदै गएको छ।
विधानतः विधान महाधिवेशन सुरू हुनुभन्दा एक महिनाअगावै केन्द्रीय समितिले विधान संशोधन प्रस्ताव तयार पारी मातहतका कमिटीलाई पठाउनुपर्नेछ।
अब बस्ने सचिवालयले यसबारे विस्तृतमा निर्णय गर्ने एमाले नेताहरूले बताएका छन्।

