
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध १६ रनको जित निकालेको छ ।
मंगलबार डुन्डीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा डच टोलीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए । नेपालबाट पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका नन्दनले नौ ओभरमा एक मेडन फ्याक्दै ३९ रनमात्र खर्चिए । ललित राजवंशीले दुई विकेट लिँदा कुशल भुर्तेल र करण केसीले एक-एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३६ रनको योगफल खडा गरेको थियो ।
नेदरल्यान्ड्सका पउल भान मिकेरेनले चार विकेट लिए । माइकल लेभिटले तीन विकेट लिँदा आर्यन दत्तले एक रन थपे ।
योसँगै नेपालले चारमध्ये तीन जित निकाल्दै स्कटल्यान्ड शृंखलाको अन्त्य गरेको छ । प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग दुई रनको हार बेहोरेको थियो ।
जितसँगै १६ खेलबाट नेपालले १२ अंक जोडेको छ । २३ खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ ।


