
रयाले,पनौती,काभ्रे । बचत तथा ऋण सहकारीहरु प्रति जनविश्वासमा संकट सृजना हुँदैछ । सहकारी ठगीका सैयौं ठूला ठूला विवादहरु सतहमा आएका छन् । विभिन्न राजनीतिक दलका नेताहरु समेत सहकारी ठगी प्रकरणमा मुद्धा खेपिरहेका छन् । कोही छानविनको दायरामा छन् । कोही लुकेका छन् । यस्तो वर्तमान सहकारी क्षेत्रमा देखिएका समस्याहरुका बीच पनि समुदायमा आधारित जनमैत्री बचत तथा ऋण सहकारी संस्था भने जनताको हित हुने विभिन्न गतिविधिहरु मार्फत जनताका घरदैलोमा पुगिरहेको छ ।
यसै सिलसिलामा शनिबार शान्ति निकेतन माविको प्राँगणमा यस सहकारीले महिला शसक्तिकार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
यस अन्तर्गत १ सय वटा स्पेयर पम्प तथा २० वटा प्लाष्टिक टनेल वितरण भयो ।
यो सामाग्री वितरण प्रणालीको बारेमा जिज्ञासा राख्दा प्रमुख व्यवस्थापक बेदप्रसाद सापकोटाले भने -“हामीसँग २१ वटा महिला समूहहरु थिए । ति समुहहरुले बैठक बसेर आवश्यकता र औचित्यताको आधारमा सदस्य चयन सिफारिस गरेको छ । त्यही सिफारिस भएकाहरुलाई हामीले सामाग्रीहरु वितरण गरेका हौं । अहिले १ समूह थपिएर २२ पुगेको छ ।”
ती सामाग्रीहरु सञ्चालक समिति अध्यक्ष,उपाध्यक्ष,सचिव,लेखा समिति तथा सल्लाहकार समितिका सदस्यहरु समेतको उपस्थितिमा वितरण गरेको साकोसले जानकारी दिएको छ ।
कहिले महिला समूह बनाएर विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ । कृषि प्राविधिक मार्फत सदस्यका खेतवारीमा सहकारीले आफ्ना सदस्यहरुलाई उन्नत प्रविधि हस्तान्तरण गरिआएको छ । कहिले रासायनिक मललाई सुपथ मूल्यमा उपलब्ध गराउन पहल गरिआएको छ।आफ्नो साकोसको गतिविधि बारे अध्यक्ष राजकुमार सापकोटाले भने -“हाम्रो मुख्य ध्येय नै आफ्ना सदस्यहरुकोलाई आयमूलक कार्यमा लगाउनु,उत्पादनसँग जोड्नु हो । उनीहरुको सुखदुखमा सहयोग गर्नु हो ।” जनमूखी गतिविधिहरु गरेर व्यवसायिक रुपमा आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउन भरिसक्य प्रयास गरिरहेको इ खबर नेटलाई अध्यक्ष सापकोटाले बताए ।
हामी कुरामा होइन काममा विश्वास गर्छौं भन्दै -“तरकारी राम्रो उत्पादन भएको अब बजारीकरण चूनौति भएकोले त्यसतर्फ पनि संस्थाले आवश्यक पहलकदमी लिनेछ । काम गर्दा मान्छेहरुले संस्थाको विरोध गर्नसक्छन् तर सकारात्मक भावले संस्थाका राम्रा कुराहरु फैलाउनुपर्ने “अध्यक्ष सापकोटाले बताए ।
यस सहकारीले आफ्ना विभिन्न कोषहरुबाट मात्र नभएर विभिन्न संघसंस्था र दातृ निकायहरुको सहकार्यमा पनि कार्य गर्दै आइरहेको छ । गत ३ वर्षदेखि हिमालयन लिकी फाउण्डेसनसँग सहकार्यमा कार्य हुँदै आइरहेको छ । यस अन्तर्गत महिला शशक्तिकरण कार्यक्रम गरिएको छ । समूह परिचालन,हिउँदे तथा वर्षे विउ वितरण, कृषि प्राविधिक सेवा सदस्यहरुकै घरदैलोमा प्रदान गरिंदै आएको छ ।

उपाध्यक्ष रामचन्द्र सापकोटाका अनुसार संस्थागत विकास,महिला नेतृत्व विकास तालिम,सिकाई अभ्यास,एक्सपोजर भिजिट जस्ता गतिविधिहरु हिमालयन रिकी फाउण्डेशनसँगको सहकार्यमा हुँदै आएको छ । यस अघिपनि सदस्यहरुलाई बाख्राको पाठी उपलब्ध गराएको थियो ।
“आत्मनिर्भर बनाउन संस्थागत सुदृढिकरण र शशक्तिकरण जरुरत पर्छ । यसैतर्फ हाम्रा कार्यक्रमहरु केन्द्रीत भएका छन् ।” हिमालयन लिकी फाउण्डेशनका प्रमुख पदम तामाङले बताए ।
“ग्रामिण भेगमा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई धेरै प्रकारका सुविधाहरु घर दैलोमै उपलब्ध गराएको “भन्दै शेयर सदस्य कोपिला सापकोटाले बताइन् । उनले समूह परिचालन र नेतृत्व विकास गर्न सहकारीले सिकाएको पनि जानकारी दिइन् । उन्नत विउ विजनको प्रयोगले उत्पादन बढी भई आम्दानी बढ्न थालेपछि खुशी लागेको अनुभव वताइन् ।
२२ महिला समूह मध्ये सीप विकास समूहकी अध्यक्ष मैया श्रेष्ठ सहकारीका गतिविधिसँग सन्तुष्ट छिन् । उन्नत विउ,प्रविधि र टडेलको प्रयोगले उत्पादनमा वृद्धि भएको उनको धारणा थियो ।

केही वर्ष अघि ४ वटा स्थानीय सहकारीहरु एकिकरण भएर जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो ।
यस सहकारीले आर्थिक कारोवारमा मात्र आफुलाई सिमित गरेको छैन् । सामाजिक उत्तरदायित्वका विविध गतिविधिमा पनि संंस्थालाई सामेल गराएकोे छ । यसमा सुत्केरी भेटघाट,सदस्यको मृत्यू हुँदा किरिया खर्चको व्यवस्था,असाध्य रोगहरुमा केही राहत,दैवीविपत्तिको समयमा राहत,विद्यालयमा सहकारी शिक्षा लगायतमा पनि उत्तिक्कै सक्रिय भएको अध्यक्ष राजकुमार सापकोटाले जानकारी दिए ।
शेयर सदस्य कृष्ण बहादुर श्रेष्ठ भन्छन् हिजो बैंक नहुँदा दैलोमै बैंक आएजस्तो लागेथ्यो । तर बैंक भन्दा पनि फरक हुँदो रहेछ सहकारी । यसले दिएको सुविधाले साँच्चै सजिलो भएको छ । विदेशबाट पैसा आउँदा यहि लिन सकिन्छ । उनले सहकारीले दिएको विप्रेषण,रेमिट्यान्स सेवाप्रति लक्षित गरेर सहकारीको बारेमा बोले ।

यस सहकारी विशुद्ध समुदायमा आधारित भएको र सञ्चालक तथा कर्मचारी प्रशासन विचको राम्रो तालमेलको कारण संस्थाआफ्नो लक्ष्यतर्फ उन्मूख भैरहेको मानेदोभान शाखाप्रमुख हरि तामाङले बताए । उनका अनुसार सहकारीमा हाल महिला र पुरुष गरी ३१२२ जना सदस्यहरु आवद्द छन् ।

“हामी चाहान्छौं हाम्रा सदस्यहरु शीप सिकुन् । आत्मनिर्भर हुन् । बढी भन्दा बढी आम्दानी गरुन् । हामीसँग भएको रुपियाँको अधिकतम परिचालनद्धारा लाभ लिन सकुन् । हाम्रो प्रयास त्यसैतर्फ छ । “साकोसका उपाध्यक्ष रामचन्द्र सापकोटाले भने ।
