
काठमाडौं । कवि सुमन थापा ‘सङ्गम’को कविता सङ्ग्रह ‘अभ्युदय’ लोकार्पित भएको छ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा कवि,कविका ८४ वर्षका पिता विष्णुवीर थापा, छोरीहरु र नातिनातिनीहरु समेतले उक्त कृतिको लोकार्पण गरे ।
‘अभ्युदय’की कवि सङ्गम आफैैले सञ्चालन गरेको उक्त कार्यक्रममा आफ्ना चार पुस्तालाई संगै राखेर साहित्यका केही प्रतिनिधीमूलक महानुभावहरुको समुपस्थितिमा कृति सार्वजनिक गर्न पाएकोमा आफ्नो लागि खुशी मिलेको बताइन् ।
“यो भन्दा खुशी मेरो लागि के छ र !”चार दर्जनभन्दा बढी साहित्यकारहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा उनले भनिन्।
चर्चित कवि र साहित्यकारहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा डा.शेखर कुमार श्रेष्ठले कृति माथि चर्चा गरेका थिए । श्रेष्ठले अभ्युदयमा प्रेम विषयका कविताहरु बढी भएको बताए ।
उनले भने-” प्रेमका अनेकानेक आयाम बाबुआमा प्रतिको प्रेम,प्रेमीप्रेमिकाको प्रेम,देशप्रेम,पशु र प्राकृतिक चिजवस्तुहरु माथिको प्रेम कविताहरुमा छरिएका छन् ।”
कविका कविताहरुमा उनका मनका पीडाहरु आएका छन् भन्दै डा.श्रेष्ठले कविताहरु स्वच्छन्दवाद,नीजात्मक,आशा र निराशाहरु पोखिएका प्रतिकात्मक चेतका भएको आफूले पाएको बताए ।
उनले अगाडि भने -“सुन्दर र मिहिन ढंगले कवितले प्रतिक र बिम्बहरु खेलाउनुभएको छ ।सु:ख दु:ख अभिव्यक्तिको माध्यम कवितालाई बनाएर कविता लेख्नुभएको छ । कविता मनदेखि पढ्यो भने पाठकलाई भावुक बनाउँछ ।”
यसअघि कवि सङ्गमकी छोरी समिक्षा के.सी.ले उपस्थित सबैलाई स्वागत गर्दै भनिन्-” ममिको खुशी शेयर गर्न उपस्थित हुनुभएका सबै आदरणीयजनहरुप्रति हार्दिक आभारी छु । सबैको माया,साथ र सहयोग पाइरहेकोमा खुशी व्यक्त गर्दछु ।”
अनौपचारिक रुपमा गरिएको उक्त कार्यक्रममा कवि श्रीबाबु कार्की,रमी प्रिया,विश्व सिग्देल र प्रोल्लास सिन्धुलीयले ‘अभ्युदय’भित्रका कविताहरु बाचन गरे ।
कवि सङ्गमले कविताहरुका रचनागर्भ समेत सुनाएर आफ्ना केही थान कविता वाचन गरिन् र कार्यक्रमको समापन गरिन् ।

औपचारिक कार्यक्रम बिना भएको कृति लोकार्पणको सहभागीहरुले मुक्त कण्ठले प्रशंसा गरे ।
यस अघि उनका माइतीघरको फूल(कवितासङ्ग्रह) र प्रेमको आदिम गीत (संयुक्त कवितासङ्ग्रह) प्रकाशित भैसकेका छन् ।
