
भोजपुर । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु. पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।







