काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी साढे ४ घण्टापछि रिहा भएका छन्। आज दिउँसो सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो ।
प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो ।सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएर यस्तो पत्र लेखेका थिए। यही पत्रका आधारमा प्रहरीले चौधरीलाई आज नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो।
उनी पक्राउ परेको साढे ४ घण्टापछि रिहा भएका हुन् । उनलाई लिन पत्नी रन्जिता श्रेष्ठ पुगेकी थिइन् । नाउपा र जनमतका नेता कार्यकर्ताहरुले उनलाई भव्य स्वागत गरेका थिए । सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पक्राउ गर्न पत्र जारी भएको थियो । सोही पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।
सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पक्राउ गर्न पत्र जारी भए पनि डिल्लीबजार कारागारलाई पठाएको पत्र आधिकारीक नभएको भन्दै सर्वोच्चले अर्को पत्र पठाएपछि उनी रिहा भएका हुन्।
सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।
पक्राउ गर्न गएको टोलीको एक सदस्यका अनुसार विष्टले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।




