
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले वैशाख १२ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं राजेन्द्र लिङदेनले संसद्मा भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै भर्त्सना गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एक वक्तव्यमार्फत लिङदेनको अभिव्यक्तिको खण्डन गरेको हो ।
विभागको एक वक्तव्यमा भनिएको छ, “अध्यक्ष लिङदेनले लक्षित गर्नुभएको व्यक्ति एक जिम्मेवार नेपाली हुन् र उनी सो दिन नेपालमा समेत नरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने उद्देश्यले सो अवाञ्छित कार्यको दोष एकजना जिम्मेवार र सभ्य नागरिक माथि लगाउनु अत्यन्तै निन्दनीय कार्य भएकोले उक्त अभिव्यक्तिको नेपाली कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ ।”
कांग्रेसले आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउनतर्फ विशेष ध्यान दिन राप्रपालाई आग्रह गरेको छ । “राजनीतिक अभीष्ट पूरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र सम्मानित संसद समेतको गरिमालाई ध्यानमा राख्न आग्रह गर्दै यस्ता कपोलकल्पित र भ्रामक कुराहरुबाट सचेत रहन समेत सबैलाई आग्रह गर्दछौँ,” केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।






