
काठमाडौं । बी डी त्यागी स्मृति केन्द्रले बाइसौं त्यागी स्मृति दिवसको अवसर पारेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गर्नुभएका पाँच प्रतिभालाई बी डी त्यागी स्मृति सम्मान तथा पुरस्कार समर्पण गर्ने भएको छ ।
केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा आज चैत ८ गते शुक्रबार बिहान बसेको कार्यसमिति बैठकले वरिष्ठ साहित्यकार प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षीतलाई बी डी त्यागी स्मृति सम्मान २०८२, वरिष्ठ साहित्यकार किरण आचार्यलाई १०१ सिक्काको थैली रहेको बी डी त्यागी स्मृति पुरस्कार २०८२, वरिष्ठ पत्रकार तथा साहित्यकार निर्मल कुमार आचार्यलाई बी डी त्यागी योगदान सम्मान २०८२ र साहित्यकार रुपा रिसाललाई बी डी त्यागी प्रतिभा सम्मान २०८२ समर्पण गर्ने निर्णय गरेको छ ।
यसरी नै साहित्यकार नभएर पनि साहित्यको विकासमा महत्त्वपूर्ण योगदान गर्नुहुने व्यक्तित्वलाई प्रदान गरिने बी डी त्यागी नेपथ्य सम्मान साहित्यकार घटराज भट्टराईको नाममा स्कुल ,क्लिनिक र स्मारक कोष स्थापना गरि शिक्षा ,स्वास्थ्य र साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका डाक्टर राजेशराज भट्टराईलाई बी डी त्यागी नेपथ्य सम्मान २०८२ समर्पित गर्ने बैठकले निर्णय गरेको छ । वरिष्ठ उपन्यासकार शङ्कर भारती संयोजक तथा वरिष्ठ साहित्यकारहरु त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको ३ सदस्यीय प्रतिभा चयन समितिले सिफारिस गरेको नावावलिलाई बैठकले अनुमोदन गरेको जनाइएको छ । आगामी बैशाख १८ गते एक विशेष कार्यक्रम बीच यी सम्मान तथा पुरस्कार अर्पण गरिने केन्द्रका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्यले जानकारी गराउनुभएको छ ।
१०८ स्वामी गोपलानन्द गिरी परिचयात्मक काव्य,बन्द झ्यालको शीशा भित्र कथा सङ्ग्रह,उत्पात उपन्यास ,बैराग्य नाटक,आफ्नै स्वरमा रेकर्ड गरिएको कविता एल्बम शुभेच्छा,अठार अध्याय गीता महात्म्य,धोती न टोपी लोक कथा सङ्ग्रह ,सम्मृद्धी सपना उपन्यास र चार थुम्का उपन्यास सङ्ग्रह प्रकाशित गरिसक्नुभएको साहित्यकार बी डी त्यागीको २०६० साल बैशाख १९ गते बिहान पशुपति ब्रम्हनालमा स्वर्गारोहण भएको थियो ।




