
काठमाडौं । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।
आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थापाले मंगलबारदेखि प्रहरीको कमान्ड सम्हाल्नेछन् । आईजीपी वसन्तबहादुर कुँवरले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण आज रातिबाट अवकाश पाउने भएपछि थापा प्रहरीको ३१औँ आईजीपी बनेका हुन् ।
उनीसँगै एआईजी सुदीप गिरी र टेकबहादुर तामाङसमेत आईजीपीको प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई आईजीपी नियुक्त गरेको हो । थापाले ०५२ भदौ १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।
हाल सीआईबीको प्रमुख रहेका थापाले उपत्यका प्रहरी कार्यालयको कमान्डसमेत गरिसकेका छन् । उनीसँग डीआईजी हुँदा वाग्मती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखको कमान्ड सम्हालेको अनुभव छ ।
त्यसरी नै एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख, एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल प्रमुख भएर काम गरेको अनुभव उनीसित छ ।
यसरी नै डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख, इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी वृत्त महाराजगन्जको कमान्ड सम्हालेका थिए । प्रहरी निरीक्षकमा समेत उनले अनेक युनिटको कमान्ड सम्हालेका थिए । उनीसँग करिब २० भन्दा बढी युनिटको कमान्ड हम्हालेको अनुभव छ । उनी संगठनमा तुलनात्मक रूपमा नरम स्वभावका प्रहरी अधिकारीका रूपमा दरिएका अधिकारी हुन् ।

