
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारले संसदमा दर्ता गरेका ६ मध्ये पाँच वटा अध्यादेश स्वीकार गर्ने निर्णय गरेको छ।
सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरे पनि अहिलेसम्म निर्णयार्थ पेस गरेको छैन।
प्रतिनिधि सभामा कांग्रेस एमालेको मात्रै पनि बहुमत पुग्ने तर राष्ट्रिय सभामा कांग्रेस-एमाले-लोसपासमेत हुँदा पनि बहुमत नपुग्ने भएपछि जसपा नेपाल निर्णायक थियो।
राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन्।
जसपा नेपालको मंगलबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले पाँच वटा अध्यादेशलाई स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको छ।
तर भूमिसम्बन्धी अध्यादेशमा भने प्रतिनिधि सभा र राष्ट्रिय सभामै अस्वीकारको पक्षमा उभिने जसपा नेपालको निर्णय छ।
जसपा नेपालका सांसद प्रकाश अधिकारीले भूमिबाहेक अध्यादेश स्वीकार गर्ने निर्णय भएको बताए।




