
पञ्चबुद्ध सम्बन्धी केही विचार व्यक्त गर्नु भन्दा अगाडि सर्वप्रथम पञ्चस्कन्ध भनेको के हो ? जान्नु नितान्त आवश्यक छ । बुद्ध धर्ममा श्रद्धा हुनेले पञ्चस्कन्धले नै यो संसार निर्माण भएको हो भनी व्याख्या गर्ने हुन्छन् । त्यस्तै मनुष्य मात्रको दुःख सुखको कारण पनि यही पञ्चस्कन्ध हुन् र हेतु पनि हुन् भनी प्रचार प्रसार गर्ने गर्छन् । “पञ्चस्कर्धात्मकम् जगत्” भनी यो सम्पूर्ण चराचर संसार र जीवन भनेकै पञ्चस्कन्ध हो भनी हामीलाई बुझाईदिन कोशिस गरिरहेको पनि सुनिन्छ । तर त्यसो भए तापनि यो पञ्चस्कन्धलाई हामीले के हो स्पष्ट बुझ्न र बुझाउन सकेका छैनौं ।
भगवान् बुद्धले यो संसारमा पञ्चस्कन्ध र मन बाहेक अरू कर्ता धर्ता कोही छैन भन्नुभएको छ । त्यसकारणले पनि मन (चित्त) को महत्वका साथ साथै पञ्चस्कन्धको ज्ञान पनि राम्ररी स्पष्ट रूपले हामी सबैमा हुनु अत्यन्त जरुरी छ । वस्तुतः रूप, वेदना, संज्ञा, संस्कार (मनोभाव वा चेतना) र विज्ञान ( मन ) यति पाँच वटा स्कन्ध (समूह) लाई नै बुद्ध दर्शनमा पञ्चस्कन्ध भनिन्छ। यी पाँच प्रकारको पञ्चस्कन्धमा सम्पूर्ण वस्तु र प्राणीहरू अन्तर्भाव भइरहेका छन् भन्ने बुद्ध भगवान्को विश्लेषणात्मक विचार हो, आविष्कार हो ।
स्थविरवादी ग्रन्थ अभिधम्मत्थसंगहोमा बुद्ध भगवान्को सिद्धान्त अनुसार १) चित्त २) चैतसिक ३) रूप ४) निर्वाणका भेदले परमार्थ वस्तु (तत्व) चार वटा मात्र छन् भन्ने कुरा स्पष्ट रूपमा व्यक्तगरेको पाईन्छ । अरू दर्शनहरू र बुद्ध भगवान्को दर्शनमा यसरी – धेरै ठूलो भिन्नता र फरक हुन आएको कुरा राम्ररी बुझ्नु पर्ने विषय मानिन्छ ।’ चित्त ( मन ) चैतसिक र रूप यी तीनै वटाले नै पञ्चस्कन्ध निर्माण भइरहेको हुन्छन् भन्ने स्थविरवादको विचार हो । त्यसकारण पञ्चस्कन्ध के हो ? पञ्चबुद्ध के हो ? स्पष्ट ज्ञान गर्न चित्त, चैतसिक र रूप यी तीनवटाको भूमिका र महत्वको स्पष्ट बोध हुनु अत्यन्त आवश्यक छ ।
चित्त (विज्ञान)
बुद्ध दर्शनमा चित्त, विज्ञान वा मन यी तीनैवटाको अर्थ एउटै हो । फेरि यो विज्ञान (चित्त), मन) पनि चक्षु विज्ञान, घ्राण विज्ञान, जिह्वा विज्ञान, काय विज्ञान, श्रोत्र विज्ञान, मनोविज्ञानका भेदले ६ प्रकारका हुन्छन् भनी बुद्ध दर्शनले मानिआएको छ ।
आँखाले देखें भन्ने मन, कानले सुनें भन्ने मन, नाकले सुँघे भन्ने मन, जिब्रोले स्वाद लिएँ भन्ने मन, शरीरले स्पर्श अनुभव गरें भन्ने मन र मनले ज्ञान गर्ने मनोविज्ञानका भेदले बुद्ध भगवान्ले मनलाई थरि थरि प्रकारले विश्लेषण गर्नुभएको पाईन्छ । यो वस्तुतः बुद्ध भगवान्को महत्वपूर्ण विशेषता हो ।
१) चक्षु विज्ञान चक्षु इन्द्रिय अर्थात् आँखाद्वारा ज्ञान गरिने मनलाई चक्षु विज्ञान भनिन्छ ।
१ (क) अनुरुद्ध महास्थविर रचित अभिधम्मत्थ सङ्ग्रहो – प्रकाशक – Varasam- bodhi मूलपालि हिन्दी अनुवाद तथा सारांश (ख). पं. दिव्य वज्र वज्राचार्य- अनुवादक-आचार्य दिडनाग विरचितः प्रज्ञापारमिता पिण्डार्थ संग्रहको भूमिका (पृ.क-च) प्रकाशक-अखिल नेपाल महायान बौद्ध समाज २०७४
२) श्रोत्र विज्ञान – श्रोत्र इन्द्रिय कानद्वारा ज्ञान गरिने मनलाई श्रोत्रविज्ञान भनिन्छ ।
(३) प्राण विज्ञानघ्राण इन्द्रिय नाकद्वारा ज्ञान गरिने मनलाईघ्राण विज्ञान भनिन्छ ।
४) जिह्वा विज्ञान जिह्वा इन्द्रिय जिव्रोले ज्ञान गरिने मनलाईजिह्वा विज्ञान भनिन्छ ।
५) काय विज्ञानकाय इन्द्रिय अर्थात् छालाद्वारा ज्ञान गरिनेमनलाई काय विज्ञान भनिन्छ ।
६) मनोविज्ञान – मन इन्द्रियद्वारा अर्थात् हाम्रो मनले ज्ञान गरिने, अनुभव गरिने मनलाई मनोविज्ञान भनिन्छ ।
केवल बुद्ध दर्शनमा मात्र यसरी मनलाई इन्द्रियका रूपमा मानि आएको देखिन्छ । तर अरू धर्ममा वा दर्शनमा पञ्चेन्द्रिय भनी आँखा, नाक, कान, जिब्रो र छाला गरी पाँचवटालाई मात्र इन्द्रिय मानेका हुन्छन् । मनलाई इन्द्रिय मानिएको देखिंदैन । यी उपर्युक्त भिन्नाभिन्नै ६ वटा विज्ञान ( मन ) को समूहलाई विज्ञान स्कन्ध भनिन्छ । यो बुद्ध दर्शनको नितान्त बुझ्नुपर्ने महत्वपूर्ण विषय हो ।
चैतसिक
बुद्ध दर्शनमा वेदना, संज्ञा र संस्कार यी तीन वटा हाम्रो मनसँगै उत्पन्न हुने र निरोध (विनाश) पनि हुने हुनाले यी वेदना, संज्ञा र संस्कारलाई चैतसिक भनेर भनिन्छ । अथवा चित्तमा उत्पन्न हुने कुरा भएकाले चैतसिक भनिएका हुन् भनी बुझ्दा अझ स्पष्ट हुन्छ ।
वेदना
मन र शरीरले सुख भयो, दुःख भयो अथवा दुख पनि होइन सुख पनि होइन भनी अनुभव गरिनुलाई सुखवेदना, दुःखवेदना नसुख नदु:ख वेदना भनिन्छ । त्यस्तै मन इन्द्रियले अनुभव गरि दु:ख वेदनालाई दौर्मनस्य र सुखवेदनालाई सौमनस्य भन्ने प्रचलपनि छ ।
संज्ञा
कुनै पनि वस्तुको आकार, प्रकार, रूप, रङ्ग, चिन्ह, लक्षण निमित्त (लामो, छोटो, गोलो) आदि ज्ञान गर्ने मनको अवस्थालाई संज्ञा भनिन्छ । त्यसैले सांसारिक वस्तुहरू जति पनि छन्, ती सबैको निमित्त, लक्षण, आकार, प्रकार, रूप, रङ्गको ज्ञानलाई बुद्ध धर्ममा संज्ञा भनी नाम राखेको पाईन्छ ।
संस्कार (चेतना वा मनोभाव )
वेदना, संज्ञा र विज्ञान (मन) भन्दा भिन्नै हाम्रो मनमा उत्पन्न हुने कुशल र अकुशल भाव (विचार) लाई संस्कार भनिन्छ । यसै लाई चेतना (मनोभाव) पनि भन्ने चलन छ । त्यसकारण साधारण तरिकाले भन्नुपर्दा हाम्रो मनमा उत्पन्न हुने राग, द्वेष र मोहको नाना अवस्थालाई नै संस्कार स्कन्ध भनिन्छ भन्ने कुरा बुझ्न जरुरी छ । यसरी हाम्रो मनमा उब्जने संस्कार (मनोभाव) लाई कुशल, अकुशल र अव्याकृतका भेदले तीन प्रकारमा वर्गीकरण गरिएको छ ।
असल चित्तसँगै उत्पन्न हुने कुशल संस्कारहरू
स्पर्श (सम्पर्क), समाधि ( एकाग्रता ), चेतना, वितर्क, विचार, प्रीति (तृप्ति, संतोष) वीर्य (उत्साह), जीवित (जीवन), अमोह, श्रद्धा, स्मृति, ही ( लज्जा) अपत्रपा (भय), अलोभ, अद्वेष, कायप्रब्धि (मन शान्त हुनु), काय लघुता ( वेदना, संज्ञा, संस्कार हल्का हुनु), काय मृदुता (वेदना, संज्ञा, संस्कार नरम हुनु), काय कर्मण्यता (वेदना आदिको कार्यमा शरीर उपयुक्त हुनु), चित्त कर्मण्यता (मन कार्यमा लाग्न उपयुक्त हुनु), काय प्रगुणता ( वेदना, संस्कार र संज्ञामा ग्लानी नहुनु) चित्त प्रगुणता (मनमा ग्लानी नहुनु), अधिमोक्ष (दृढ विश्वास हुनु), मनसिकार (मन कार्यमा लाग्नु), तत्रमध्यस्थता (मध्यस्थ हुनु) अर्थात् उपेक्षा गर्नु, करुणा (दया गर्नु) मुदिता (प्रसन्न हुनु), कायदुश्चरित विरति ( शरीरले दुश्चरित नगर्नु), वाक् दुश्चरित विरति ( वचनले दुश्चरित नगर्नु), मिथ्याजीव विरति (अनुचित तरिकाले जीविका गर्न छोड्नु) यति ३६ प्रकारको संस्कार लाई कुशल (असल) चित्तमा उत्पन्न हुने संस्कार (मनोभाव) भनिन्छ ।
लोभसँग आउने संस्कार
स्पर्श, चेतना, वितर्क, विचार, प्रीति, वीर्य, समाधि, जीवित (बुद्ध दर्शन अनुरूप जीवित हुनु) वा जीवन जिई रहनुलाई जीवितेन्द्रय भनेर मानिराखेको पाईन्छ । त्यस्तै मनसँग आउने संस्कारका रूपमा पनि मानिराखेको छ । यसरी उल्लेख गरिराखेको आठवटामध्ये चेतना एउटा बाहेक अरू सात वटा संस्कार कुशल, अकुशल दुईवटैसँग हाम्रो मनमा आउने हुन्छ । तर अह्नी (पाप कर्मगर्ने नलजाउन् अनुताप (पाप गर्न नहिचकिचाउनु), लोभ गर्न मोह (अज्ञान) हुनु मिथ्या दृष्टि (पुण्य, अपुण्य, स्वर्ग, नरक आदि नमान्नु) छन्द (काम गर्ने इच्छा हुन्) अधिमोक्ष (निश्चय गर्नु) यति चौध प्रकारको मनोभावलाई लोभको मूल (जरा) अकुशल संस्कार भनेर उल्लेख गरिएको छ ।
द्वेषसँग आउने संस्कार
स्पर्श, चेतना, विर्तक, विचार, वीर्य, जीवित, समाधि, अही. अनुत्ताप, जस्ता माथि उल्लेख गरेको मनोभाव (संस्कार) बाहेक द्वेष (अरूदेखि रिसाउनु), मोह, छन्द, अधिमोक्ष, औद्धत्य, मनसिकार इर्ष्या (अरूको सम्पत्तिदेखि ईख, डाहा गर्नु), मात्सर्य (आफू एक्लै मात्र धनी होस् अरूको उन्नति नहोस भन्ने सोच्नु) कौकृत्य ( पश्चाताप गर्नु ) आदि बाह्रवटा संस्कारलाई द्वेषको मूल (द्वेषको जरा) भनिन्छ । यस प्रकारको संस्कारलाई अकुशल संस्कार भनी वर्गीकरण गरेको पाईन्छ ।
मोह (अज्ञानता) सँग आउने संस्कार
स्पर्श, चेतना, वितर्क, विचार, वीर्य, जीवित (जीवन) दुर्बल समाधि (एकाग्रता), अही (लज्जा) अनुत्ताप, मोह, विचिकित्सा (धर्ममा शंका गर्नु), औद्धत्य ( हडबड हुनु, गर्नु) मनसिकार यति मध्ये चेतना एउटा बाहेक अरू बाह्र वटा संस्कारलाई मोहमूल (मोहको जड) वा अज्ञानताको जरा मानिएको छ ।
यस प्रकार भगवान् बुद्धले हामी मनुष्यहरूलाई लोभ, द्वेष, मोह हुँदा हामीमा थरि थरिको मानसिक भाव आउने हुनाले यी कुशल, अकुशल संस्कारलाई पुण्य अपुण्यका रूपमा पनि वर्गीकरण गरी मनुष्यको मनोभावना राम्रो पारीदिन प्रयोग गरेका हुन् भनीविचार गर्नु राम्रो हुन्छ । यति बाहेक अरू संस्कार छैन भन्नेस्थविरवादी विचार हुन् ।






