
काठमाडौं, नेपाल -नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को अक्सन फेब्रुअरी २२, २०२५ मा हुने घोषणा गरेको छ । नेपालका शीर्ष फुटबल प्रतिभाहरूलाई एकसाथ ल्याउने यस कार्यक्रममा ७ प्रमुख टोलीहरूले लिलामी प्रक्रियामा भाग लिनेछन्। टोलीहरूमा झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।
यस वर्षको अक्सनमा ए र बी श्रेणीका खेलाडीहरू समावेश हुनेछन् । योसँगै सी श्रेणीका खेलाडीहरूको ठूलो समूहलाई भने आफ्नो प्रतिभा प्रदर्शन गर्न र लिगमा सामेल हुने अवसर प्रदान गर्न पछि अर्को मितिमा ड्राफ्ट गरिनेछ। यस अक्सनको उद्देश्य सन्तुलित र प्रतिस्पर्धात्मक एनएसएलका लागि विभिन्न स्तरका खेलाडीहरूका लागि थप अवसरहरू सिर्जना गर्नु हो ।
नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने, “नेपालका उत्कृष्ट फुटबल प्रतिभाहरूलाई एकै ठाउँमा ल्याउन पाउँदा हामी उत्साहित छौं। यो अक्सन अनुभवी र उदीयमान खेलाडी दुवैका लागि एक रोमाञ्चक प्लेटफर्म हुनेछ। हामी रिटेन्सन पोलिसी ल्याएर बलियो खेलाडी-आधारित फ्यान फलोइङ सिर्जना गर्न पनि प्रतिबद्ध छौं जहाँ प्रत्येक टोलीले विभिन्न श्रेणीका कम्तिमा २ देखि ३ जना खेलाडीहरूलाई रिटेन गर्नेछन्।”
प्रत्येक टोलीको संरचनामा प्रति टोली २२ वा २३ खेलाडीहरू समावेश हुनेछन्:
• १ मार्की खेलाडी
• २-३ जना ए श्रेणीका खेलाडीहरू (१ रिटेन्सन सहित)
• ६ जना बी श्रेणीका खेलाडीहरू
• ४ जना सी श्रेणीका खेलाडीहरू
• १ जना डी श्रेणीका खेलाडी
• १ जना नयाँ
• ६ जना विदेशी/प्रतिष्ठित खेलाडीहरू (एसियाका कम्तिमा १ जना खेलाडी सहित)
• १ जना एनआरएन (वैकल्पिक – नेपाल बाहिर बस्ने हाम्रा नेपाली खेलाडीहरूलाई अवसर दिने )
यो खालको संरचनाले प्रत्येक टोली विविधतायुक्त र प्रतिस्पर्धी हुने गरी निर्माण हुनेछन् जसले गर्दा खेलको समग्र स्तर र प्रशंसक संलग्नतालाई माथि उठाउन सघाउनेछ। विशेष गरी एशियाका विदेशी खेलाडीहरूको सहभागिताले लिगको अन्तर्राष्ट्रिय अपीललाई अझ बढाउनेछ। नेपाली फुटबलको विकास गर्न र प्रशंसक एवम् समुदायसँग दिगो सम्बन्ध निर्माण गर्दै खेलाडीहरूलाई करियर अगाडि बढाउने अवसर प्रदान गर्न एनएसएल सधैं प्रतिबद्ध छ ।






