
पनौती,काभ्रे ।पनौती नगरपालिकाको१६ औं नगर सभा सम्पन्न भएको छ ।
प्रमुख रामशरण भण्डारीको अध्यक्षता नगर सभा सम्पन्न भएको हो ।
गत असोज १०–१२ को अविरल वर्षातका कारण भएको क्षति पछि बसेको नगर सभाले ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ ।
४६ करोड बजेट योजना सहित कटौती गरिएको उपप्रमुख गीता बन्जाराले बताइन् । ३७ करोड रुपैया अघिल्लो आर्थिक वर्षबाट मौज्दात हुने अपेक्षा गरिएको भए पनि ७ करोड मात्रै मौज्दात भएकाले ३० करोड रुपैया घाटा भएको थियो । घाटा बजेटको शंशोधन सहित ४६ करोड रुपैया कटौती गरी केहि योजना हटाईएको पनि उनले जानकारी दिइन् ।
सभाले संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड, आन्तरिक श्रोत, जनसहभागिताका योजनाहरुमा विनियोजन गरिएको बजेट कटौती गरेको छ ।
धुलिखेल नगरपालिका खानेपानी उपभोक्ता समितिका तर्फबाट पनौती नगरपालिका श्रोतमा आधारित भई खानेपानी उपभोग गरेबापत प्राप्त हुन आएको १० लाख रुपैया खानेपानी ब्यवस्थापन कार्यमा खर्च गर्ने गरी पनौती नगरपालिका वडा नम्वर १२ लाई उपलब्ध गराउने निर्णय अनुमोदन गराउने निर्णय सदर गरेको छ ।
सभामा विपदजन्य कृयाकलापका लागि ११ करोड ७३ लाख ७५ हजारका कार्यक्रमहरु समावेश गरी १ अर्ब १४ करोडको शंशोधित बजेट पास भएको छ ।
नगरसभाले वडा र क्षेत्र हेरेर सम्पत्ति करमा छुट दिने निर्णय पनि गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/२०८२ को मसिंर मसान्त सम्मको आम्दानी खर्च अनुमोदन सम्वन्धी प्रस्ताव वडा अध्यक्ष दिपकप्रसाद दाहाल र १५ औ नगर सभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरुको अनुमोदन सम्वन्धी प्रस्ताव वडा अध्यक्ष पुरुषोतम अधिकारीले प्रस्तुत गरेका थिए ।
सभामा वडा अध्यक्ष मोहनबहादुर भण्डारीले धन्यवाद प्रस्ताव पेश गरेका थिए । नगर प्रमुख रामशरण भण्डारीले छलफलमा उठेका विषयबस्तुहरुलाई सम्बोधन गरेका थिए । सभामा प्रस्तुत भएका विषयहरु सर्वसम्मत पास भएका छन् ।




