
ईखबरनेट संवाददाता
बिर्तामोड, पुस ३
डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई चर्चका विदेशी खेलाडी आर्मन्डले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको थपिएको समयमा चर्चले गोल थपे ।
कमल श्रेष्ठको फ्रिकिक प्रहारमा अर्का विदेशी खेलाडी डिकाले गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलको अधिकांश समय बल नियन्त्रण गर्न सफल चर्चले गोल गर्ने थप असवर सदुपयोग गर्न सकेन ।
३२ औँ मिनेटमा चर्चका समिर तामाङले गरेको हेडर बार नजिकैबाट बाहिरियो । ४७ औँ मिनेटमा विदेशी खेलाडी अबयोमीले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । खेलको अतिरिक्त समयमा सनम भुजेलले गरेको कडा प्रहार गोल बारमा लागेर फर्कियो ।
गोर्खा ब्वाइजले ६५ औँ मिनेटमा पाएको अवसर गुमायो । सुजित बुढाथोकीले प्रहार गरेको लङ रेन्जर सट बाहिरियो । ८२ औँ मिनेटमा विदेशी खेलाडी रिचार्डले गरेको प्रहार फ्रेममा पर्न सकेन ।
तीनजना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको गोर्खा ब्वाइजले अपेक्षित प्रदर्शन गर्न सकेन ।
तीनजना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको गोर्खा ब्वाइजले अपेक्षित प्रदर्शन गर्न सकेन ।

