
विराटनगर । कवि हरि कट्टेलको नयाँ कृति ‘दीप्तदृष्टि’ एक समारोहका बीच लोकार्पण भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङ, विशिष्ट अतिथिहरू प्राज्ञ एन पि आचार्य ,प्राज्ञ खेम नेपाली , साहित्यकार सरला चापागाईं , बलराम पोखरेल, महाकाव्यकार सोमराज अभय, प्रा डा इतिहासविद् गणेश क्षेत्रीलगायतले उक्त कृतिको लोकार्पण गरे ।

नेपाल स्रष्टा समाज,कोशी प्रदेशले समाजको स्थापना दिवसको अवसर पारेर कृति लोकार्पण गरेको हो ।
। कृतिमाथि प्रा. डा. रमेश घिमिरे एवम प्रा. डा .हरिहर भण्डारीले समीक्षा गरेका थिए ।
कृतिका बारेमा बोल्दै प्रा.डा .रमेश घिमिरेले ‘दीप्तदृष्टि ‘पढे पछि आफूले हरि कट्टेललाई शास्त्रीय छन्दलाई कब्जामा लिएको कविका रुपमा देखेको बताए । उनले भने- ‘शील्पका दृष्टिले, रसका दृष्टिले ,कवित्व र विषयबस्तुका दृष्टिकोणले समेत कृति उदाहरणीय छ;’दीप्तदृष्टि’का कविताहरू हरेक दृष्टिले उत्कृष्ट देखिएका छन् ।यो उनको निकै ठूलो छन्द साधनाको उपज हुनु पर्छ र यसले कट्टेललाई छन्दोबद्ध कविताका फाँटमा निकै उचाइमा पुर्याएको छ ।’
अर्का विश्लेषक हरिहर भण्डारीले छन्दोबद्ध कविताका क्षेत्रमा हरि कट्टेललाई र उनको दीप्तदृष्टि सङ्ग्रहलाई खोजेर पढ्नु पर्ने दिन आएको बताए ।

नेपाल स्रष्टा समाज, कोशी प्रदेश,संयोजक कृष्ण भन्डारी मार्सेलीको अध्यक्षता भएको थियो ।
समारोहमा पोखरा इलाम झापा सुनसरी थनकुटा र मोरङका विशिष्ट साहित्यकारहरूको ब्यापक उपस्थिति थियो ।
कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले, वालकवि प्रज्ञा कट्टेल लगायतको साङ्गितिक कविता गायनले कार्यक्रममा थप रौनक छाएको थियो ।
उनको यो नवौं कृति हो ।यो छन्दोबद्ध कवितासँग्रहलाई नेपाल स्रष्टा समाजले प्रकाशन गरेको हो ।




