
काठमाडौं ।इतिहास प्रधान पत्रिकाको कोटिमा सर्वाधिक चर्चा बटुलेको, विश्वासिलो र बढी भरपर्दो मानिएको त्रैमासिक पत्रिका “पूर्णिमा” हो । यो संशोधन मण्डल नामक संस्थाको मुखपत्र भने पनि हुन्छ । “इतिहासको पनि इतिहास” नामक पुस्तकमा भनिएअनुसार राणाशासनको अन्त पछि इतिहासकारहरुको लागि ठूलो ढोका खुल्यो । स्वदेशी र विदेशी लेखकहरुले निर्भिक रुपमा इतिहासको अध्ययन गर्न थाले त्यसै सन्दर्भमा इतिहास संशोधन मण्डलको नाम अग्रिम पंक्तिमा आउँछ । यसले आफनो कार्य वि.सं २००९ सालदेखि शुरु गरेको थियो र नाम भने २०१८ सालमा मात्र राखिएको हो भनी बताउनुको साथसाथै यस मण्डलले एक पत्रिका पूर्णिमा पनि प्रकाशित गरेको छ । इतिहास विषय अध्ययन गर्नेहरुको लागि यो पत्रिका अति आवश्यक मानिन्छ भनेर पनि बताइएको छ ।
इतिहास विषय अध्ययन गर्नेहरुको लागि यो पत्रिका अति आवश्यक छ भनिएकोले पनि होला मान्छेहरुले सबै अंक संकलन गरेर राख्ने गरेको छ । म आफुपनि सबै अंक त होइन अधिकाँश अंक संकलनमा राखेको छु । ती अंकहरुमा अभिलेख स्रोत छापिएको छ भने त्यो मात्र म उपयोगी ठान्दछु । यसमा संशोधन मण्डलले समातेको सिद्धान्त र धरातल ठीक नभएको हुनाले जतिपनि व्याख्या गरिए ती इतिहास उपयोगी देखिएन । अरु हिसावका कुरा पनि देखाइएका छन् त्यो त पटक्कै विश्वास गर्न लायक देखिएन । यसको पनि कारण छ यही कारणलाई जनसमक्ष राख्ने उद्देश्यले यो लेख तयार गरिएको हो ।
कारण
अहिले वि.सं २०८१ साल भनेको तद्नुसार ने.सं ११४४—११४५ हो । यसबाट वि.सं र ने.सं बीच ९३६—९३७ फरक रहेको देखिन्छ । नेपालसंवत् कार्तिकशुक्ल प्रतिपदाबाट आरम्भ हुने संवत् हो भने विक्रमसंवत् वैशाख संक्रान्तिदेखि शुरु हुने संवत् हो । त्यही भएर कार्तिक देखि चैत्र मसान्तसम्म ९३६ फरक र वैशाख संक्रान्ति लागेदेखि कार्तिक शुक्ल प्रतिपदा नलागेसम्म ९३७ फरक देखिने भएको हो । सामान्य दृष्टिले हेर्दा यो कुरा नै ठीक रहेको देखिन्छ र संशोधनमण्डलले समातेको कुरा पनि यही नै हो । यसको सिद्धान्त पहिल्याएर हेरियो भने वि.सं ९३८ कार्तिकमा नेपालसंवत् शुरु भएको धरातल माथि टेकेको देखियो यदि यही धरातल सही भएकोभए मात्र ठीक देखिने हो । तर यथार्थ भने वि.सं ९३६ कार्तिकबाट नेपालसंवत् शुरु भएको हो । यसको हेक्का त अधिकाँश इतिहासकारहरुले राख्दै आएको हुनुपर्दछ ।
यहाँ न त नेपालसंवत् शून्यबाट शुरु हुने संवत् भनेर कसैले सिद्ध गर्न सकेको छ , न त विक्रमसंवत् शून्यबाट शुरु भएको सिद्ध गर्न सकेको छ । एउटा कार्तिकबाट शुरु हुने अर्को वैशाखबाट शुरु हुने भएकोले पनि हो भन्ने हो भने ९३६ कार्तिक र ९३८ कार्तिक बीच एक वर्षको फरक नभएर २ वर्षको फरक प्रत्यक्ष नै छ ।
नेपालसंवत् शुरु भएको वि.सं ९३६ कार्तिक शुक्ल प्रतिपदा मानेको अवस्थामा नेपालसंवत् १ भनेको विसं ९३६ कार्तिकदेखि वि.सं ९३७ आश्विनसम्म रहने धरातल बनेको भयो । यसमा नेपालसंवत् र विक्रमसंवत् बीचको अन्तर ९३६—१=९३५ र ९३७—१=९३६ हुने स्पष्ट देखियो । अहिले नेपालसंवत् र विक्रमसंवत् बीचको अन्तर ९३६ र ९३७ छ । यही धरातललाई सही मानेको खण्डमा वि.सं ९३७ को कार्तिकदेखि वि.सं ९३८को आश्विनसम्म तान्नुपर्ने हुन्छ । किनकि ९३७—१=९३६ र ९३८—१=९३७ हुनुपर्ने भयो वास्तवमा यो यथार्थ भने होइन ।
लिच्छविसंवत्को निर्णयको पृष्ठ १३६पल्टाएर हेर्ने हो भने नयराज पन्तको भनाई यस्तो छ
विक्रमसंवत्को प्रारम्भ वैशाखमा हुने र नेपालसंवत्को प्रारम्भ कार्तिकमा हुने भएकोले वास्तवमा वि.सं ९३७ कार्तिकमा नेपालसंवत्को प्रारम्भ भएको हो । यस कारण वि.सं ९३७ को वैशाखमा नेपालसंवत् ० हुन्छ । यहाँ गणित गर्न सजिलोको लागि सर्वत्र वि.सं ९३७ मा नेपालसंवत्को प्रारम्भ भएको हो भनी लेखिएको छ । यस विषयमा विशेष कुरा पछि अर्को निबन्धमा लेखिने छ ।
उहाँको यो भनाइबाट वि.सं ९३७ को वैशाखसम्म त नेपालसंवत् शुरु भएकै छैन । वि.सं ९३७ को कार्तिक शुक्ल प्रतिपदामा आएर बल्ल नेपालसंवत् शुरु भएको हुँदा नेपालसंवत् १ भनेको वि.सं ९३७ को कार्तिकदेखि वि.सं.९३८ को आश्विनसम्म रहेको भन्न खोजेको प्रष्टै बुझिन्छ ।
यसमा भनिएको अर्को कुरा यस विषयमा विशेष कुरा पछि अर्को निबन्धमा लेखिने छ त भनियो तर आफनो बाँकी जीवन भरिमा उहाँले अर्को निबन्ध ल्याउँदै ल्याउनु भएन ।
जे होस् वि.सं ९३७ कार्तिकमा नेपालसंवत् उठेको भन्ने उहाँको भनाई जुन छ त्यो उहाँ कै सिद्धान्तको पनि अनुकूल छैन ।
लिच्छविसंवत्को निर्णयको पृष्ठ ४ पल्टाएर हेरौं
……….शकसंवत् ४९८ (वि.सं ६३३) देखि मानदेवसंवत् चल्यो र सो संवत्को चलन ३०४ वर्षसम्म अर्थात् वि.सं ९३७ सम्म रह्यो भन्ने बुझिन्छ ।
उहाँको यो भनाई यदि ठीक हो भने सहोत्तरतन्त्रको पुष्पिका वाक्यमा दिइएको मितिको उहाँ आफैले गरेको गणना स्वतः गलत भनेर उहाँ कै सिद्धान्तले भन्छ ।
अभिलेखको संवत् ( मानदेवसंवत्) ३०१ विक्रमसंवत् ९३५ शाके ८०० वैशाखशुक्ल वार आदित्य तिथि सप्तमी नक्षत्र तिष्य सर्वार्थसिद्ध योग पर्यो । यसरी सौश्रुतीसंहिता सहोत्तरामा लेखिएको तिथि,वार,नक्षत्र योग सबै ट्वाक्क मिले ।
( लिच्छविसंवत्को निर्णय पृष्ठ २७)
किनभने उहाँको गणनाबाट मानदेवसंवत् ३०१ वैशाख भनेको वि.सं ९३५ वैशाख रहेछ भन्ने सिद्ध गरेको भयो । तब मानदेवसंवत् ३०१ वैशाखमा वि.सं ९३५ वैशाख हुने भएपछि ३०२ वैशाखमा वि.सं ९३६ वैशाख, ३०३ वैशाखमा वि.सं ९३७ वैशाख र मानदेवसंवत् ३०४ वैशाखमा वि.सं ९३८ वैशाख हुने कुरा उहाँ कै गणनाले भन्ने कुरा हो ,हामीले भनेको होइन । यसको मतलव वि.सं ९३८ वैशाखसम्म मानदेवसंवत् ३०४ भइसके कै हुँंदैन बल्ल वि.सं ९३८ कार्तिकसम्म ३०४ रहने भएपछि वि.सं ९३८ को कार्तिकमा बल्ल मानदेवसंवत् अन्त भएर नेपालसंवत्को नयाँ क्रम शुरु भएको पनि उहाँ कै गणनाले भन्ने कुरो भयो, हामीले भनेको होइन ।
माथि पृष्ठ ४ मा वि.सं ९३७ सम्ममा मानदेवसंवत् ३०४ रह्यो भनेको कुरा आफनै भनाइसंग आफैमा बाझिएको कुरा प्रष्टै देखिने भयो । त्यस कारण पं नयराज पन्तले गरेका हरेक गणना लटरपटर नै थिए भन्ने कुरा घाम जत्तिकै छर्ल· भइरहेको छ ।
त्यही भएर यथार्थ भनेको नेपालसंवत १ भनेको वि.सं ९३६ को कार्तिक देखि ९३७ को आश्विन सम्म रहेको कुरालाई बङ्ग्याएर विक्रमसंवत् शून्यबाट शुरु हुने भन्दै उनका पिछलग्गूहरुले मलजल गर्न थालेको देखिएको हो । किनभने ९३६ कार्तिकदेखि ९३७ आश्विनसम्म रहेपछि शून्यबाट शुरुभएकोले ९३६ र ९३७ जोड्नुपरेको भन्दै भ्वाँग परेको विक्रमसंवत्को प्वाल भरिसक्य टाल्ने प्रयासमा दत्तचित्त भएर लागेको देखियो । यदि विक्रमसंवत् शून्यबाट शुरु भएको थियो भने कुन शास्त्र र कुन गणितले यो कुरा सिद्ध गर्दछ भनेर एउटा कुनै उदाहरण भने अघिसार्न सकेको अहिलेसम्म देखिएको छैन ।
तमाम इतिहासकारहरुले इतिहास लेख्दा मिलोस्कि नमिलोस् मतलव भएन तर चित्त बुझाइमा ९३६ र ९३७ नै जोडेर झारा टराइ इतिहास लेख्दै आएका छन् किनभने अधिकाँश इतिहासकार संशोधन मण्डलको पिछलग्गू छन् । यसरी ९३६ र ९३७ जोड्नको लागि टेक्ने धरातल सिद्धान्त भनेको वि.सं ९३८ कार्तिकमा नेपालसंवत् शुरु भएको सिद्ध गर्ने ऐतिहासिक प्रमाण चाहिन्छ त्यो अहिलेसम्म कसैले दिनसकेको छैन ।
वि.सं ९३८ कार्तिकबाट नेपालसंवत् शुरु भएका धरातलमा टेकिएका पूर्णिमा अंक १ देखि आठसम्मका अंकहरुमा भएका लेखहरु यस प्रकार छन् । अरु अंकहरुको बारेमा अर्को निवन्धमा क्रमशःदिंदै जाने हुनेछ ।
हरेक अंकको पहिलो पृष्ठमा यो उद्गार दिइएको छ ।
धेरै मिहिनेत गरी यो तयार गरिएको छ । त्यस कारण यहाँ झूटो गुण अथवा दोष नलाइ दिनुहोला ।
यसो भने पछि नमिलेको कुरा पनि अति राम्रो भनेर प्रशंसा गर्नु भएन र नमिलेको कुरा नमिलेकै हो भन्नु झूटो दोष पनि भएन ।
पहिलो अंकमा मल्लकालीन अभिलखको व्याख्या भएका लेखहरु यी छन्
रुद्रमल्ल र उनको जन्मतिथि , चौतारा देवीदास अथवा चिकुटि,जितामित्र मल्ल,हनूमान्कोस्थापना गर्नमा हेतु,कर्षको अर्थ
दोस्रो अंकमा मल्लकालीन अभिलखको व्याख्या भएका लेखहरु यी छन्
स्थितिमल्ल तथा जातपात, जितामित्र मल्लका कृतिहरू,मल्लकालमा देश रक्षाको व्यवस्था र त्यसप्रति प्रजाको कर्तव्य,नेवारी भाषाको तामाङ भाषा तथा लिम्बुभाषासंगको सादृश्य, महेन्द्रसिंह(भास्करमल्ल)को ताम्रपत्र र त्यसको ऐतिहासिक व्याख्या
तेस्रो अंकमा मल्लकालीन अभिलखको व्याख्या भएका लेखहरु यी छन्
प्राचीन मूर्तिकलाको विषयमा ,आनन्ददेव रुद्रदेव,र अमृतदेवको समयमा एउटा विचार,नरेन्द्रमल्ल र अमर मल्ल एकै व्यक्ति हुन्,भूपालेन्द्र मल्ल, चौकोटदरवार,दुर्गाकृत्यकौमुदी
चौथो अंकमा मल्लकालीन अभिलखको व्याख्या भएका लेखहरु यी छन्
डोयहरू को हुन् ?प्रताप मल्लको शान्तिपुर प्रवेश,भक्तपुरको राजकुलो,स्थिति मल्लको पालाको वि.सं १४४५ कोमानचन्द्र शाक्यको ताम्रपत्र र त्यसको ऐतिहासिक व्याख्या
पाँचौं अंकमा मल्लकालीन अभिलखको व्याख्या भएका लेखहरु यी छन्
पाटन सुनधाराको अभिलेखमा रहेका राजा र संवत् विषयको विचार, यक्षेश्वर मन्दिर चौतारा भगीरथ भैया,
छैठौं अंकमा मल्लकालीन अभिलखको व्याख्या भएका लेखहरु यी छन्
कर्णाली प्रदेशको इतिहासको एक झलक,जगत्प्रकाश मल्ल,योगनरेन्द्र मल्लका उत्तराधिकारी
सातौं अंकमा मल्लकालीन अभिलखको व्याख्या भएका लेखहरु यी छन्
शक्तिशाली भारदार रामवद्र्धनहरू र तात्कालिक नेपाल, यक्षमल्लका समयका निश्चित संवत् र तिथिमितिहरू, स्नेहमण्डप
आठौं अंकमा मल्लकालीन अभिलखको व्याख्या भएका लेखहरु यी छन्
शमसुद्दीनको आक्रमण, यक्षमल्लको समयका निश्चित संवत् र तिथिमितिहरू,जगच्चन्द्र
माथि उल्लेखित लेखहरुमा व्याख्या गर्दा नेपालसंवत् भएको अभिलेखको मितिको व्यापक चर्चा गरिएका छन् । ती सबै नेपालसंवत् विसं ९३८ कार्तिकबाट प्रारम्भ भएको धरातलमा टेकेर लेखिएका हुनाले मिल्दैन भन्दै गर्दा झूटोदोष लगाएको ठहरिने छैन । किनभने नेपालसंवत्को प्रारम्भ वि.सं ९३६ कार्तिकबाट भएको भन्नेकुरा कुनै पनि इतिहासकारलाई बोध गराइ राख्नु नपर्ला । अर्को कुरा यी लेखका लेखकहरू जोसुकै होउन् । उहाँहरुले लेख तयार गर्दा धेरै मिहिनेत गरेको किन नहोस् तर गलत धरातलमा टेकेर लेखेको हुनाले धरातल मिलेको थिएन है भन्न त पाइन्छ नि । किनकि त्यत्ति पनि भन्न नहुने उहाँहरु श्री ३ महाराज पनि होइनन् । फेरि नेतृत्व लिएको व्यक्तिले जुनधार समातेको हो अरु सहायकहरुले त्यो भन्दा फरकमत जाहेरगर्ने धृष्टतापनि कसैले गर्दैनन् । यति भनेपनि मान्छेले सहजै बुझ्छन् ।
ती लेखहरुको व्याख्या गर्ने क्रममा कति ठाउँमा कतिवटा नेपालसंवत्को उल्लेख भए , तद्नुसार विक्रमसंवत् भनेर कतिवटा सतही गरिए ती सबै गनेर साध्य हुँदैन । जेहोस् कार्तिकदेखि चैत्रसम्मका नेपालसंवत्को अंक देखिए जतिमा ९३६ जोडेका छन् भने वैशाखदेखि आश्विनसम्मका नेपालसंवत्का अंक देखिए जतिमा ९३७ जोडेका छन् । यो भनेको नेपालसंवत्को प्रारम्भ वि.सं ९३८ को कार्तिकमा भएको सिद्धान्तमा आधारित याने गलत धरातलमा टेकेर लेखिएका हुन् । यसरी नमिलेको देखादेख पनि आहा क्या! राम्रो भनेर झूटो प्रशंसा गर्नु पनि त भएन नि ।
पद्धतिमा फरक किन देखापरेको ?
यसमा कुरा आउँछ हिसाव कै । प्रायः पूर्णिमा अंकहरुमा त्रिकोणमिति भनेर एक स्थानी दुइ स्थानी मात्र होइन बीसौं बाइसौं स्थानी अंकको भागहार वर्गमूलका हिसाव देखाइएका छन् । त्यो हिसाव देख्दैमा मान्छे मूर्छा परोस् भनेर होकि केहो ? आजभोलि क्यालकुलेटरमा त्यतिस्थानी देखाउने क्यालकुलेटर नै पाइंदैन । यो भनेर यसमा देखाइएका हिसाव मिल्दैन भन्न खोजेको होइन । संभवतः मिलेकै होला तर सर्वसाधारणले विश्वास गर्ने कसरी? प्रश्न यो हो किनकि त्यत्रो अंक गणितमा माहिर भएको व्यक्तिलाई वि.सं ९३५ मा मानदेवसंवत् ३०१ भएपछि वि.सं ९३७ मा ३०४ भइसक्ने हुँदैन भन्नेसम्म ज्ञान थिएन भने त्यत्रो लामोलामो हिसाव देखाएको के प्रयोजनको लागि सर्बसाधारणले बुझ्न सकोस् कसरी ?त्यही भएर हिसाव देखाइएका कुरामा विश्वास लागेन भन्न खोजेको हो । पहिलो पृष्ठमा धेरै मिहिनेत गरी यो तयार गरिएको छ । त्यस कारण यहाँ झूटो गुण अथवा दोष नलाइ दिनुहोला भनिएको कुरा सायद यसमा मात्रै आकर्षित हुनसक्छ जस्तो लाग्दछ ।
शुरुमा नेपालसंवत्मा ९३५ र ९३६ जोडे पछि विक्रमसंवत् आउँथ्यो भने अहिले ९३६ र ९३७ जोड्नु पर्नाको कारण के होला ? यस विषयमा एकजना कोही इतिहासकार जवाफदिन अघि बढेको देखिएको छैन । उही शून्यबाट शुरु हुने र एकबाट शुरु हुने दुइथरिको संवत् प्रणाली छन् भनेर बाह्र सत्ताइसको कुरा गर्न मात्र जानेको छ । कार्तिकादि र चैत्रादिमा ५ महिना फरक हुँदैमा ९३५ र ९३७ बीच दुई वर्ष फरक पर्न जाने होइन । यति नबुझेका इतिहासकार जगतले पूर्णिमा अंकमा दिइएका त्यत्रा लामालामा हिसाव के बुझेको होला ? अचम्म यसमा छ ।
निष्कर्ष
१.शुरु शुरुमा नेपालसंवत्मा ९३५ र ९३६ जोडेर विक्रमसंवत्मा सतही गर्नुपर्ने हुन्थ्यो हिजोआज ९३६ र ९३७ जोडेर विक्रमसंवत्मा सतही गर्नु पर्नाको कारण के हो ? यस बारे इतिहास प्रधान पत्रिकामा एकशव्द पनि केही लेखिएको छैन । विक्रमसंवत्को कुनै धरातल छैन भनी त्यसमा यथेष्ट प्रमाण साथ लेखिएको लेखलाई पनि कसैले ध्यान र चासो दिने गरेको छैन । यो पाराले इतिहास अनुकूल तथ्य माथि चिन्तन मनन भएकै छैन भन्ने प्रष्ट हुन्छ ।
२. कथा भनेको ठूला मान्छेले जे जसरी भन्यो त्यसलाई हूबहू पत्याउन मिल्छ तर इतिहासको कुरालाई त्यसरी पत्याउन मिल्दैन । किनकि इतिहास भन्नासाथ हरेक कुराको सिद्धान्त कारण र प्रमाण साक्षी राखेर मात्र पत्याउने विषय हो । त्यस कारण संशोधन मण्डलले जे भन्यो त्यही इतिहासको मूलधार हुने होइन र पूर्णिमा पत्रिकामा जे जति लेखियो ती कुनै पनि सही ठहरिएको पनि छैन ।
३.संशोधन मण्डलको पक्षमा वकालत गर्दै आएका लेखक इतिहासकारहरुले पनि १७ महीनाको हिसावमा तलमाथि परेको मात्र हो खासै फरक होइन भन्नेहरु र इतिहासमा एक दुइवर्ष तलमाथि पर्नु स्वभाविक हो भन्दै आएको देखियो । उनीहरुले त्यही १७ महिना भित्र इतिहासको सिद्धान्त जुनलीगमा हिंड्नु पर्ने हो त्यो लीगबाट उछ्छिटएको भने देखेकै रहेन छ भन्ने बुझियो । वास्तवमा कोही लेखक संशोधन मण्डल कै पदचापमा हिंड्न चाहन्छ भन्दैमा अरु पनि त्यसरी नै लीग छोडेर लागीरहनु पर्दछ भन्ने छैन ।
४.इतिहास प्रधान पत्रिकालाई सरसर्ति हेर्दै जाँदा नेपालसंवत्मा ९३६ र ९३७ जोड्नु पर्नाको कारण के हो ? भन्ने तिर ध्यानै दिएको देखिंदैन । वास्तवमा लिच्छविकालमा चलेको लिच्छवि संवत्लाई शकसंवत् मानेको र त्यही मूलधार हो भनीरहनुको नतिजा नै यो हो । लिच्छविसंवत् र नेपालसंवत यी दुवै कार्तिकबाट फेरिने संवत् भएकोले ती दुई बीच हरेक महीना ८०२ वर्षको अन्तर हुने गर्दछ । पूर्णिमा अंकमा दुनियाँलाई देखाउन नेपालसंवत्मा ८०१ र ८०२ जोड्नुपर्दछ भनी सिद्धान्त बनाएर देखाएको पाइन्छ भने हिसावमा कहीं पनि ८०२ जोडेको देखाइएको छैन । हिसाव तिर नियालेर हेर्यों भने नेपालसंवत्मा ८०० र ८०१ मात्र जोडेको देख्न पाइन्छ । यो भनेको दुनियाँलाई खसीको मासुभन्दै कुकुरको मासु बेचेको घटनासंग सादृश्य मिल्न आएको भन्न सकिन्छ ।
५.इतिहास प्रधान पत्रिकालाई सरसर्ति हेर्दै जाने हो भने इस्वीसंवत् ,त्यसको महीना र तारिख बारे कहीं कतै चर्चा नै गरिएको भेटिंदैन । त्यस कारण कीलहर्नले नेपालसंवत् शुरु भएको पहिलो दिन भनेर इ.सं ८७९ अक्टोवर २० तारिख र बृहस्पतिबार पर्दछ भनेर दिइएको माथि एकशव्द पनि खर्च गरेको छैन । इतिहास प्रधान पत्रिका भएपछि यता पनि ध्यान त दिनै पर्दथ्यो । इस्वीसंवत् त अंग्रेजले मान्ने संवत् भयो रे नेपालसंवत् त नेपाल कै हो नि । वास्तवमा इतिहास भनेको त्यसरी पक्षपात गरेर अध्ययन गर्ने विषय नै होइन ।
६. अरु लेखक तथा इतिहासकार जो संशोधन मण्डलको खाँट्टी पक्षधर भएर बोल्छन् । उनीहरु चाहिं इस्वीसंवत् अनुसार नेपालसंवतको शुरु दिन भनेर कीलहर्न कै कुरा रटान गर्दै आएका छन् । त्यहाँ पनि इस्वी ८७९ को कार्तिक देखि ८८० को आश्विनसम्म रहने कुरा आउँछ । त्योबेला ८७८ र ८७९ को अन्तर देखापर्ने अहिले ८७९ र ८८० को अन्तर किन हुन आएको हो ? यता तिर ध्यानै नदिनेहरुले संशोधन मण्डलको पक्षधर भएर मात्र के उपलव्धी भयो त्यो देखाउन सकेको छैन ।
त्यस कारण नामले इतिहास प्रधान पत्रिका पूर्णिमा भन्ने देखियो । त्यसमा संलग्न लेखहरु धेरै मिहिनेत लगाएर लेखेको भने पनि चाहिने कुरामा अहिलेसम्म मिहिनेत गरेको रहेन छ । त्यस पत्रिकाहरुमा नमिलेको कुरा भरमार भए पनि अति राम्रो भनी जसले प्रशंसा गर्दै आए तिनीहरु वास्तवमा झूटो गुण लगाएर प्रशंसा गर्दै आएको देखिने भयो भने यहाँ औंल्याइएका नमिलेका कुरालाई झूटो दोष लगायो भनी आरोप चाहिं नलागोस् । बस्









