
काठमाडौं । नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित भयो ।
कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा,रोचक घिमिरे,श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,प्रा.डा.महेशकुमार आचार्य,वरिष्ठ साहित्यकार पवन आलोक,प्रा.डा.गोविन्दप्रसाद पौडेल,डा.दिनबन्धु शर्मा,कृतिकार जीवराज भट्टराई लगायतले लोकार्पण गरे ।
वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा कथाहरु उत्कृष्ट भएको अनुमान गर्न कठिन नहुने बताए ।
वरिष्ठ साहित्यकार रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिंदै साहित्यका क्षेत्रमा देखिएका विकृतिहरु चिर्नुपर्ने औंल्याए ।

यस अघि लोकार्पित कृतिमाथि टिप्पणी गर्दै डा.शान्तिमाया गिरीले कथाकारले देखेभोगेका,बुझेका,मनले अनुभूति र समाजका जटिलताहरु कथाहरु कोरिएको भन्दै कुनैपनि विषयमा शुक्ष्म विश्लेषण गर्ने कथाकारमा खुवी भएको बताइन ।अर्का टिप्पणीकर्ता प्रा.डा.दीनबन्धु शर्माले बहुकथाको स्वरुप केही कथामा आएको टिप्पणी गरे । उनले केही कथाहरुले पाठकहरुलाई स्थान दिने काम गरेको बताए ।
कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली साहित्यको सबैभन्दा कान्छो कथाकृति आएकोमा कथाकारलाई बधाई दिंदै प्रकाशनको जिम्मेवारी प्रति आभार व्यक्त गरे ।

“नेपाली साहित्यक्षेत्रमा देखापरेका विकृति औल्याउँदै चर्चा पाउने कृति ओझेलमा पर्ने गरेका सैयों उदाहरण मसँग छन् । एकातिर हल्ला गर्न जानेका किताब पुरस्कृत हुने प्रवृत्ति देखिएको छ । अर्काेतिर लेखक स्वयंले पाठक खोज्नुपर्ने बाध्यता छ ,जसको अन्त्य अनिवार्य छ ।” उनले राज्यले स्रष्टाहरुको उचित सम्मान गर्न नसकेको प्रति समेत खरो टिप्पणी गरे ।
यस अघि शुभकामना मन्तव्य दिंदै प्रा.डा.महेश कुमार आचार्य र डा.गोविन्दप्रसाद पौडेलले समाजलाई नजिकबाट विविधतामा हेर्न सक्ने कथाकारको रुपमा भट्टराईको प्रशंसा गरे । समाजका सचिव प्रकाश घायलले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष डा.सदानन्द कडेलले गरेका थिए ।






