
काठमाडौं । मनसुनको प्रभाव अझै देशभर छ।देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
त्यस्तै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा समेत हुने महाशाखाको पूर्वानुमान छ।
शनिबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।






