काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैं पर्व विविधतापूर्ण विश्व परिवेशमा सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत स्थापित भएको बताएका छन्।
विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक हुन्छ। यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ। तसर्थ, दशैं पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनर्मिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन म सबैमा अपिल गर्छु,’ भनेका छन् ।
बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त रहेको समयमा दशैं पर्व परेकोले विपत्तिको सामना गर्न पनि भनेका छन् । उनले यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।





