
गौदान
दिलीप श्रेष्ठ
कति सजिलो बहाना
सिङ्गो जिन्दगीको कालो पखाल्न –
गौदान
दूधमा पानी मिसाएर
गाईलाई दोष दिन पल्केकाहरू
खिया लागेको बुद्धि बोकेर
जलपको भरमा टल्केकाहरू
या एक्लो स्वार्थकै लागि
सगोलको साँध सारेर
संधियारसँग सुटुक्क ढल्केकाहरू
आजभोलि पितृको आँखा छलेर
तिम्रो दानको आडमा – छिनमै
जुनीभरि पाप गर्दाको दोष मेटाउँछु भन्छ
नर्कको बाटो लागिसकेकाहरू पनि
स्वर्गको बाटो भेटृाउँछु भन्छ ।
तर तिमी त अब गणतन्त्रको गाई हौ,
के तिम्रो नामको सस्तो दानले
यो गणतन्त्रको पाप पखाल्न सक्छौ ?
समयको प्रार्थना छ – गौमाता !
तिम्रो दानको बहानामा
अब पापीहरूको पाप नपखाल ।









