
काभ्रै ।सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् ।
सत्ताका निम्ति कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनको भनाई थियो ।
दुखमा परेका जनताको पक्षमा लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

शनिबार काभ्रेको धुलिखेलमा विपी कोइरालाको प्रतिमा अनावरण पछि उनले भने “दुईवटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर, हामीले काम पनि त्यहीअनुसार गर्नुपर्यो । कांग्रेसले कामै गर्दैन भन्छन् है, विचार गर्नू । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन, अनि खाइदेला नि अरू पार्टीले / त्यसकारणले कांग्रेसले अरू बढी काम गर्नुपर्यो । जनतासँगको सम्बन्ध बढाउनुपर्यो । जनताको दिल जित्नुपर्यो । जनताको कामहरू गर्नुपर्यो । त्यसकारण जनताको कामहरू हामीले गर्दै जानुपर्दछ । हामीले जिल्लाका मात्रै होइन, प्रदेशका सबै ठाउँका विकास योजनाका कामहरू गरेर आफ्नो ठाउँका लागि, आफ्नो गाउँको लागि, आफ्नो जिल्लाको लागि , त्यति मात्रै होइन, सर्वसाधारण जनता र खासगरीकन दुःख पाएका जनताको लागि हामीले काम गर्यौँ भने, कांग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ, यसै काममा लाग्नका लागि म सबै साथीभाइहरूलाई आग्रह गर्न चाहन्छु ।”


