काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको छ । न्यूनचापीय रेखा उत्तरतर्फ हुँदा नेपालमा मनसुन थप सक्रिय भएर धेरै वर्षा हुने हुँदा सावधानी अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ ।
सातवटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा बिहान मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने, कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।
जल तथा मौसम विज्ञानले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागको आग्रह छ ।




