बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा : युनिसेफ
काठमाडौं । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
बाढीपहिरोको जोखिममा नेपाल लगायत नेपाल, भारत, पाकिस्तान र बंगलादेश आदि मुलुकका ६० हजार बालबालिका जोखिममा रहेको उसको अनुमान रहेको छ ।युनिसेफका अनुसार जलवायु परिवर्तनका कारण अत्यन्त गम्भीर मौसमी घटनाहरु भइरहेका छन्, जसबाट बालबालिकाको जिन्दगी नै बदलिएको छ । यसैगरी वर्षातको समयमा बाढी र डुबानबाट बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्दछ ।
बाढी र पहिरोका कारण स्वच्छ खानेपानीको आपूर्ति प्रभावित भएको छ । दूषित पानीका कारण झाडापखाला लगायत अनेकौं प्रकारका रोग फैलिने डर हुन्छ ।उसले भनेको छ यी कारणहरुले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको छ।
युनिसेफले तथ्यांक निकाल्दै नेपालमा बाढी र पहिरोका कारण कम्तिमा १०९ जनाको मृत्यु भएको र त्यसमा ३५ जना बालबालिकाहरु रहेको बताएको छ । कयौं घाइते भएका र कम्तिमा १ हजार ५८० परिवार प्रभावित भएका युनिसेफको तथ्यांक छ । प्रेस बिज्ञप्ति जारी गर्दै पिडित बालबालिकाको र परिवारका लागि नेपाल सरकार र अन्य निकायसंग मिलेर काम गरिरहेको पनि उसले जनाएको छ ।

