काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सरकार गठन भइसक्दा पनि सार्वजनिक भएको छैन् ।
गत असार १७ गते मध्यरातमा कांग्रेस र एमालेबीच पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्नेसहित ७ बुँदे सहमति भएको खबर मात्र सार्वजनिक भएको थियो।कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले सहमति पत्रमा हस्ताक्षर गरेका बताइएको थियो र त्यही सहमति अनुसार ओलीको नेतृत्वमा सरकार गठन भैसकेको छ ।
ओलीले शपथ लगत्तै चार दललाई समेटेर सरकारलाई समेत पूर्णता दिइसकेका छन्। तर, अझै आधिकारिक रूपमा दुई ठूला दलहरुबीच भएको सहमति सार्वजनिक गरिएको छैन।
अहिले कांग्रेस एमाले गठबन्धनको सरकारमा अशोक राई नेतृत्वको जसपा र लोसपा सहभागी भएका छन्, भने जसपा नेपाल, जनमतले पनि बाहिरैबाट समर्थन गरेका छन्।
सरकारलाई समर्थन गरेर साना दल मात्रै नभएर कांग्रेस एमालेकै केही नेताहरूलाई बाहेक सात बुँदे सहमतिबारे जानकारी समेत छैन।
दुई दलबीच संघदेखि प्रदेशसम्म सरकारमा शक्ति बाँडफाँट, संविधान संशोधन, अर्थतन्त्रलाई चलायमान बनाएर अघि बढ्नेलगायतको सहमति भएको बताउँछन्। दुवै दलका नेताहरूले कसैले पनि खास सहमतिको बारेमा बताउन सकिरहेका छैनन् । अझै भनुँम सहमति गोप्य नै राखिएको छ।
दुई ठूला दलहरुबीच भएको सहमति अझै सार्वजनिक नगर्दा विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले गहिरो आशंका व्यक्त गर्दै बाहिर ल्याउन माग गर्दै आइरहेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद सोविता गौतमले दुई दलबीच भएको सहमति सार्वजनिक गर्न माग गरिन्।
उनले भनिन्, ‘दुई ठूला दल मिल्ने सामान्य विषय होइन, यो सम्झौता किन र कसरी भयो ? त्यो सम्झौता पारदर्शी होस्।’उता माओवादी केन्द्र समेत यो सहमति प्रति सशंकित देखिएको छ । यसैले उसले नेकपा एकिकृत समाजवादी सहित साना बामपन्थी दलहरु सम्मिलित समाजवादी मोर्चालाई सक्रिय बनाएको छ ।

