काठमाडौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
यसैबीच सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना,प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ ।
नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाइ, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।
मन्त्रालय भागबण्डा टुंगिएको तर मन्त्रीमा को को जाने भन्ने आज सपथ ग्रहण अगाडि टुंगिने जनाइएको छ ।


