पोखरा , नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय शक्ति बनेमात्र देशमा आमूल परिवर्तन हुने वताएका छन् ।
नेकपा एमाले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याएमात्र एमाले निर्णायक शक्ति बन्न सक्ने बताए । एमाले राष्ट्रिय शक्ति नबनेसम्म देशका समस्या समाधान नहुने उनको जिकिर थियो । देशलाई सहीदिशामा लैजान पार्टीका कमिटीलाई तल्लोतहदेखि नै सुदृढ बनाउन उनले जोड दिए ।
स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी निर्वाचनमा तीन वटै तहमा एमालेले बहुमत ल्याउनुपर्नेमा जोड दिए । यसको लागि सबै कार्यकर्ताहरु एकतावद्ध भएर लाग्न उनले निर्देशन गरे ।
एमाले महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापा,केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज कृष्ण थापा,केन्द्रीय सदस्य एवं उपप्रमुख मञ्जुदेवी शर्मा आदिले समेत उक्त कार्यक्रममा आआफ्नो धारणा राखेका थिए ।
उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।