नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्वसुधार राष्ट्रिय कार्यान्वयन समिति नेपालद्वारा वि.सं २०६९ सालमा प्रकाशित जम्मा ५२ पृष्ठ भएको पातलो पुस्तिकाको नाम “पर्वसुधारका आधारहरु” दिइएको छ । यस पुस्तिकामा राष्ट्रकवि माधवप्रसाद घिमिरेदेखि उप प्रा. जयन्त आचार्यसम्मको ११ वटा लेखहरु समावेश गरिएका छन् । जसमा उठाइएको मुद्दा नितान्त ज्योतिष विज्ञान र खगोल विज्ञानको पनि विशुद्ध गणितसित सरोकार हुने विषय रहेको छ । तर यसमा खगोलविद् एकजना पनि संलग्न रहेको देखिएन । चन्द्र सूर्य पृथ्वी ग्रहहरु खगोलविदहरुको पनि उही हो र ज्योतिषविद्हरुको पनि उही हो । यी दुई शास्त्रका चन्द्र,सूर्य, पृथ्वी अलगअलग छैनन् । त्यसैले पर्वसुधारको सम्बन्धमा खगोलविद्हरुको निष्कर्ष चाहिन्थ्यो तर त्यसमा छैन । त्यसमा एक जनाको लेख अर्कोसंग मत बाझिएका छन् । यही कुरालाई औंल्याइदिने हेतुले यो लेख तयार गर्नु परेको हो ।
मुख्य कारण
सूर्यसिद्धान्त अनुसार वर्ष विस्तार भनेर ३६५ दिन १५ घडी३१.५२३ पला भनेर दिइएको छ तर वासन्तिक विषुवसम्म सूर्यको दुवै अयन बीचको अवधि भनेर ३६५ दिन १४ घडी ३१.९७२ हुन्छ भनियो र नक्षत्र वर्षमा ३६५दिन १५ घडी२२ पला ५३ विपला हुने गर्छ भनेर यसरी फरक फरक वर्ष विस्तारमान दिइएको नै मुख्य कारण हो । फलस्वरुप सूर्यसिद्धान्त अनुसार हिन्दु ज्योतिषविद्ले मानेको आरम्भविन्दु र वासन्तिक विषुवको विन्दु बीच २३ अंश अधिक छ भनी निष्कर्ष निकालिएको हो । यो अंशलाई पनि अयनाँश भनिएको पाइन्छ । यो कुरा भारतको इतिहासमा यत्रतत्र उल्लेख पाइन्छ तर उक्त ५२ पृष्ठको पर्वसुधारका आधारहरु नामक पुस्तिकामा भने यो कुरा कतै गरिएको छैन ।
यही २३ अंश बढी देखिन आएको मिलान गर्ने कसरी भन्ने विषयमा लोकमान्य बालगंगाधर तिलकले सन् १९१४ मा बम्बइमा ,सन् १९१७ मा पुनामा र सन् १९१९ मा सौगलीमा ज्योतिषविदहरुको बृहत गोष्ठी अन्तरकृया गराएका थिए तर समाधानको लागि कुनै उपाय निस्केन । पछि सन् १९५२ मा भारतमा गठित पंचांग सुधार समितिले दिएको सुझाव अनुसार लोकपंचाग र धार्मिक पंचांग निकाल्ने प्रस्ताव ल्यायो । सोही मुताविक भारतमा व्यवस्था भइ आएको छ । लोक दिन अनुसार रातको १२ बजेदेखि अर्को रातको १२ बजेसम्म एक दिन मानिन्छ भने धार्मिक दिन अनुसार एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एकदिन मान्दै आएको छ । यो मान्यता नेपालमा त प्राचीनकालदेखि यथावत् रुपले चल्दै कायम भएर आएको रीत हो भन्ने सर्वविदित नै छ ।
आज भन्दा १४०० वर्ष अघिदेखि आजसम्म २३ अंश पछि सर्यो त्यसलाई अघि ल्याउनु पर्यो भन्ने तर यस पुस्तिकामा कुनै प्रमाण अघि ल्याउन सकेको होइन । यदि यो कुरा जायज हो भने ज्योतिषविद्हरुको नजरमा मात्र जायज देखिएर भएन , खगोलविद्हरुको नजरले पनि जायज देखिएको हुनु जरुरी छ । तर यहाँ एक पक्षले पर्वसुधार भन्दै बेढंङ्गी पाराले जोड गर्दै आएको नै मुख्य आपत्तिजनक देखिएको हो । ती बेढङ्गी देखिनुको कारणहरु यस प्रकार छन्:—
क) विक्रमसंवत् र शकसंवत्को पहिचान गर्न नसक्नु
उक्त पुस्तिकामा भनिएको छ कि समस्या विक्रमसंवत्लाई मात्र छ भन्दै विक्रम संवत्को गणनाअनुसार हालसम्म २४ दिन अघि विषुवद् दिन दक्षिणायन र उत्तरायण प्रारम्भ भइसकेको भनेर उल्लेख छ । नेपालमा इतिहासकारहरुले यसलाई आफनो मनोमानी ढंगले प्रस्तुत गर्दै आए । किनकि शकसंवत् र विक्रमसंवत् बीच कहीं १३५ फरक, कहीं १३६ फरक र कहीं १३४ फरक देखाइ आएका छन् । कुनचाहिं विक्रमसंवत्मा २४ दिन अघि विषुवद् दिन फरक परेको हो त्यो भने अहिलेसम्म उनीहरु मध्ये कसैले छुट्याउन सकेको होइन । अभिलेख स्रोत कै कुरा गर्दा पनि विक्रमवर्ष शकवर्ष भनिएको ठाउँमा कुनैमा १३१ वर्ष फरक त कुनैमा १८९ वर्ष फरक रहेको समेत देखियो । यो आधारमा विक्रमसंवत् कुनविन्दुबाट बगेर आएको भन्ने नै एकीन गर्न सकेको होइन । त्यही कुरा थाहा नभइकन २४ दिन फरक परेको हिसाव कुन विक्रमसंवत्मा खोज्ने भन्ने नै स्पष्ट छैन । अब आउने वि.सं २०८२ पनि कुन विन्दुबाट निरन्तर भएर आएको हो भन्न नसक्नेले सुधार केमा अन्यौल हुने स्वभाविक छ ।
शकसंवत् कै कुरा गर्दा पनि नेपालसंवत्संग ८०२ वर्ष फरक भएको लिच्छवि संवत्लाई पनि शकसंवत् भन्न पुगेको छ र ८०० ।८०१ फरक भएकोलाई पनि शकसंवत् भनिरहेको छ । अभिलेख स्रोतकै कुरा गर्दा नेपालसंवत्संग ८०२ वर्ष फरक भएको संवत्लाई शकसंवत् भनेर त्यसमै १३५ जोडेर आएको गलत विक्रमसंवत्लाई नै असली विक्रमसंवत् मान्दै आएको हुनाले हचुवाको भरमा कुनचाहिं विक्रमसंवत्मा २४ दिन घटाउने हो ?त्यसको टुंगो पर्वसुधारका आधारहरु नामक पुस्तिकामा छँदै छैन ।
ख)चाडपर्वमा सूर्योदयसंग उदित तिथि र चन्द्रोदयको तिथिमा कुन ठीक
धार्मिक चाडपर्व मान्दा चन्द्रोदय तिथि जुनसुकै बेला भएपनि सूर्योदयले समातेको तिथि अर्को सूर्योदयसम्म रहन्छ भन्ने कुरामा त मतैक्य नभएर उपत्यकाको तीन शहरमा तीन थरि ढंङ्गले चाडपर्व मनाइ आएका यथार्थ देखीरहेकै हो । यसमा त ज्योतिषहरु कुनै टुंगोमा पुग्न नसकेर सबैजना किंकर्तव्यबिमूढ भइरहेको छ । यो कुरा समाधान त गर्न नसक्ने ज्योतिषविद्हरुबाट विक्रमसंवत् सुधार्ने कुरा धेरै परको हो ।
ग) विक्रमसंवत्को क्यालेण्डरबाट एक महिना काट्दा के हुन्छ ?
आजसम्म बछला भनेको वैशाख कछला भनेको कार्तिक भन्दै आएको प्रचलन धेरै पुरानो हो । यसले त्यो क्रम विसृंखल पार्ने भयो किन कि भोली गएर विक्रमसंवत् को एकमहिना काटेर केही फरक पर्दैन भन्दैमा सुध्रिने होइन । वास्तवमा त्यो कुरा आफैमा अविश्वसनीय छ । कित विक्रमसंवत् संगसंगै अरु सबै संवत्को क्यालेण्डरबाट पनि एकमहिना काट्नु पर्यो । त्यो कुरा पर्वसुधार को प्रस्ताव गर्नेहरुको तागत र क्षमता भित्र पर्ने कुरा होइन ।
अर्को कुरा पुस्तिकामा भनिएजस्तो योमरि पुन्हिलाई उत्तरायण शुरु र ज्यापुन्हिलाई दक्षिणायन शुरुसंग मिलान गर्ने भन्ने कुरा एकमहिना अघि ल्याएपनि त्यो असंभव हुने भएकोले पुस्तिकाको कुरा आफैमा बेठेगान छ ।
घ)सायन निरयण र वासन्तिक विषुव के हो एकीन नहुनु
पुर्वसुधार पुस्तिकामा सायन निरयण भनेको के हो? वासन्तिक विषुव केहो? भन्ने परिभाषा सवै लेखकहरुको भनाइमा मतैक्य छैन । खाली गोलमटोल परिभाषा र आफैमा बाझिने खालका मात्रै छन् । किनभने मलमास अधिमास जे भनिएपनि कुनैबेला दुईवटा संक्रान्तिको बीचमा एउटा सिंगो चान्द्रमास परेको देखियो भने त्यो चान्द्रमासलाई मलमास भन्ने गरिएको हो । यो कुरा अहिले पञ्चा·ले पनि त्यही भन्छ भने यही पुस्तिकामा सूर्यको एक राशिबाट अर्को राशिमा संक्रमण अर्थात् निरयण संक्रान्ति भएन भने त्यस्तो चान्द्रमासलाई मलमास भनिन्छ भनेर दिइएको छ । कुरा उही त हो नि संक्रान्तिले नछोएको चान्द्रमास मलमास कहलिन्छ । तब हालको पञ्चा· अशुद्ध छ भन्नु आफैमा निराधार सिद्ध छ ।सायन निरयन भन्ने कुरा विशुद्ध गणितसंग सम्बन्धित विषय हो तर पुस्तिकामा सायन संक्रान्ति प्रकृति हो पुरुष होइन र निरयण संक्रान्ति पुरुषसित पनि गाँसिएको छ । ॐ अक्षरको चिन्ह दिएर माथिल्लो थोप्ला निरयण पुरुष हो थोप्ला भन्दा मुनिको अर्धवृत्त चान्द्र तिथि र अक्षर मध्यभाग सायन प्रकृति भनेर पृष्ठ४५ मा निरर्थक व्याख्या गरिएको छ । यस्तो अभौतिक कुराले २४ दिन वरपर सरेको सिद्ध हुने कुरा कदापि होइन ।
ङ) २३ डिग्री २४ डिग्री सरेको कुरा आँखाले देखिने भनेर भ्रममा पर्नु
यसरी २३ वा २४ डिग्री सरेको कुरा विशुद्ध ज्यामितीय हिसावले बाहेक अरुबाट सिद्ध हुने कुरा छैन । त्यो कुरा आँखाले हेरेर भन्न सकिने कुरा नै होइन । राष्ट्रकवि माधवप्रसाद घिमिरे न ज्योतिषाचार्य थिए न खगोलविद् थिए । उनले सूर्य सरेको आँखैले देखेर पौषको ६ गते नै सूर्य उत्तरतिर गएको प्रत्यक्ष देखेको र ध्रुवतारा २४ डिग्री सरेको जस्ता कपोलकल्पित कुरा गर्दा पनि संस्कृति मन्त्रालय पत्याएको देखिनु आश्चर्यलाग्दो कुरा छ ।
च) वराहमिहिरको सिद्धान्त नेपालमा लागू हुननसक्ने थाहा नहुनु
वराहमिहिरको सिद्धान्त अपनाउनेले चाँगुनारायणमा रहेको संवत् ३८६ लाई ३८७ भन्नुपर्दछ भन्ने कुरा लिच्छविसंवत्को निर्णयको पृष्ठ १०३ मा वराहमिहिरको शकसंवत् ३८७ हुन्छ भनेर दिइएको छ । त्यसैले वराहमिहिरको सिद्धान्त यहाँ कुनै उपयोगी सिद्ध होइन । यही पुस्तिकामा पनि दिइएको यस प्रकार छ
“अहिलेभन्दा लगभग १५,१६ सय वर्षअगाडि वराहमिहिरको समयमा सायन संक्रान्ति र निरयण संक्रान्ति एउटै भनेर पञ्चा· गणना गरिएको कुरा स्पष्ट छ र यो अकाट्य प्रमाणको रुपमा पनि स्थापित छ । यही प्रमाणका आधारमा पनि चाडपर्व एक महिना वरतिर सार्नु पर्ने निश्चित छ । तर वराहमिहिरको पालामा जस्तो सायन र निरयण एउटै मानेर पञ्चा· गणना गर्न चाहिं अहिले मिल्दैन ।”
यहाँ अकाट्य प्रमाण भनिएको कुरा नै कुनै औचित्य सावित भएन र वराहमिहिरको कुरा कतै आकर्षित नै हुँदैन भनेर थाहा हुँदाहुँदै पर्वसुधारकहरु किन यसमा जोड दिन चाहन्छ अचम्म छ ।
छ) वेदा·ज्योतिष नेपालमा लागू हुननसक्ने थाहा नहुनु
वेदा·ज्योतिषले पाँचपाँचवर्षमा दुईदुईवटा मलमास पर्छ भन्छ तब ३५वर्षमा १४ वटा मलमास हुन्छ ३८ वर्षमा १५ मलमास पर्नेमा एउटा छोडेर १४ मान्दा सौरमान र चान्द्रमान बराबर हुन्छ भन्ने मान्यता राख्छ । यही कुरालाई पर्वसुधारका अभियन्ताहरु बडो खुसीभइ त्यसलाई समात्दै आएको कुरा यस पुस्तिकामा सबैले मुक्तकण्ठले तारिफ गर्दै आए ।(पृष्ठ ५,९,४० पल्टाएर हेर्दा देखिन्छ ।)
वास्तवमा संवत् ३१ को भक्तपुर इनायचोको अभिलेख र पाटन सुनधाराको संवत् ३४ को अभिलेखमा अधिमास परेको छ । यसरी चार वर्षभित्र दुईवटा अधिमास देखेपछि वेदा·ज्योतिषबाट गणना गर्न उचित नहुने रहेछ भनी छोडेको कुरा ती अभियन्ताहरुलाई कुनै अत्तोपत्तो नै छैन रहेछ र शुरुमा सौरार्यब्राम्हपक्षीय तिथि गणित अप्रामाणिक भन्ने गरेको हो पछि लिच्छविसंवत्को निर्णय गर्दा त्यही सौरार्यब्राम्हपक्षीय तिथि गणित नै समातेको पनि अत्तोपत्तो रहेनछ । यस वावजूद पनि वेदा·ज्योतिष नै समातेर बस्यो भने चारचारवर्षमा दुइदुइवटा अधिमास पर्ने भएपछि ३६ वर्षमा १८ वटा अधिमास पर्ने भए अर्को दुइ वर्षमा थप एकवटा गर्दा ३८ वर्षमा त १९ वटा अधिमास पर्ने भए पछि एउटा छोडेर १८ मान्दा पनि सौरमान र चान्द्रमान बराबर देखिन आउने हिसाव पनि देखाउन सक्नुपर्ने हो तर देखाउन सकेको होइन । यस्ता कच्चा अस्पष्ट कुरा गर्नेहरुको एक झुण्ड देख्नेबित्तिकै संस्कृति मन्त्रालय समेत बहकिएको देखिनु पो अचम्मको पराकाष्टा भन्न सकिन्छ ।
ज) उत्तरायण र दक्षिणायन के हो भन्ने मै सबैको मतैक्य नहुनु
शास्त्रअनुसार १२ वटा संक्रान्तिहरु हुने गर्दछ त्यो दृष्टान्त क्यालेण्डरमा छन् । ती संक्रान्तिहरुलाई चारभागमा विभाजन गरिएको छ ।
(१) पहिलोमा दुईवटा अयन संक्रान्ति हुन्छन् मकरसंक्रान्तिले उत्तरायण आरम्भ भएको मान्छ भने कर्कटसंक्रान्तिले दक्षिणायन आरम्भ भएको मान्छ । यो कुरा कसैले पनि अहिलेसम्म गलत सावित गर्न सकेको छैन । त्यत्तिकै मिल्दैन भन्न पाइने होइन ।
२) दोस्रोमा दुईवटा विषुवसंक्रान्ति हुन्छन् (मेष संक्रान्ति र तुलासंक्रान्ति जसमा रात र दिन बराबर हुन्छ) यो कुरा कसैले पनि अहिलेसम्म गलत सावित गर्न सकेको छैन । त्यत्तिकै मिल्दैन भन्न पाइने होइन ।
(३) तेस्रो चारसंक्रान्तिहरु मिथुन ,कन्या,धनु,मीन लाई षडशीतिसंक्रान्ति भन्ने गर्दछ ।
(४) चौथोमा अरु चारसंक्रान्तिहरु वृष,सिंह,वृश्चिक,कुम्भलाई विष्णुपदी वा विष्णुपद संक्रान्ति भन्ने गर्दछ ।
यसबाट अयनसंक्रान्ति र विषुवसंक्रान्ति फरकफरक संक्रान्ति हुन् भन्ने स्पष्ट छ । विषुवसंक्रान्तिमा रात दिन बराबर हुन्छ भन्नेहरु पनि उल्लू र श्रावण संक्रान्तिमा दिन लामो हुन्छ भन्ने पनि उल्लू र माघ संक्रान्तिमा दिन छोटो भन्नेहरु पनि उल्लू कहलिन्छ भन्ने विवाद उठाइएको छ ।(लि.सं.नि पृष्ठ १३७) यस्तो तूक नै नभएको कुराले कोही पनि उल्लू र काग सिद्ध हुने होइन ।
यहाँ सबैको जनविश्वासमा मंसिरपूर्णिमा( यमरि पुन्हि)को दिन सबभन्दा छोटो दिन र जेष्ठपूर्णिमा(ज्यापुन्हि)कोदिन सबभन्दा लामो दिन हुन्छ भन्ने हो ।यहाँ श्रावण १ गते लामो दिन र माघ १ गते छोटो दिन कसैले भनेको छैन । त्यसैले कसैले नभनेपनि भन्यो भन्ने मान्छे नै उल्लू ठहरिने मात्र हो । विषुवसंक्रान्तिमा रात र दिन बराबर हुन्छ भनेर शास्त्रले भनेको हो । शास्त्रको कुरा मिल्दैन भन्ने आधार र पुष्टि गरेर देखाउनु पर्ने हुन्छ तर सकेको होइन ।
पुस्तिकामा छोटो दिन पौष ७ गते र लामो दिन असार ७ गते भनिएको छ त्यसको सिद्ध गर्ने आधार राख्न सकेको होइन । त्यस्तै चैत्र ७ गते र आश्विन ७ गते दिन र रात बराबर हुन्छ भनियो त्यसको पनि कुनै आधार राख्न सकेको होइन । त्यसमाथि अफापसिद्ध भइसकेको वेदा·ज्योतिष र प्रयोजनहीन सावित भइसकेको वराहमिहिर को हवाला दिएर दुनियाँलाई उल्लू बनाउन खोज्दैमा कोही उल्लू हुँदैन ।
झ) अयनाँशसंग चाडपर्व मान्ने कुरा कुनै सरोकार छैन भन्ने थाहा नहुनु
अयनाँश भन्नाले सानो अंश भन्ने जनाउँछ भनाइको मतलव कुनै दशमलव पछाडिको अंकलाई अंश भन्ने गरेको पाइन्छ र प्रायः हिसावमा दशमलव पछाडिको त्यस्तो अंक त्याज्य पनि हुने गर्दछ । जस्तै उदाहरणको रुपमा एक वर्षमा ३६५.२५ दिन हुन्छ त्यही भएर इस्वीसनमा चारवर्षको एक चोटी फेब्रुअरी २९ भएर ३६६ दिनहुन्छ अरुबेला ३६५ दिन मानेको हुन्छ । इस्वीसंवत् बाहेक अरु मितिमा दशमलव पछाडिको ०.२५ जुन अयनाँश हो त्याज्य मानेर छोडेको र यसलाई हरेक तीनतीन वर्षमा अधिमास मानेर मिलान भएर आएको छ । तर कतिपय मान्छेहरुको धारणामा त्यस प्रकारका अयनाँशहरु जम्मा भएर अहिले २४ दिनफरक पर्यो भन्दै गर्दा तर्क होइन हिसाव देखाउनु पर्ने हुन्छ ।
ञ) अधिकमास परेको वर्षमा १३ महिना र क्षयमास परेको वर्षमा ११ महिना हुन्छ भन्ने भ्रम लिएर बस्नु
पुस्तिकामा पनि भनिएको छ कि मलमास नपर्ने वर्ष १२ महिनाको १ वर्ष हुन्छ भने मलमास परेको वर्ष १३ महिनाको १ वर्ष हुन्छ । तेह्रौंमास नै मलमास हो ।(पृष्ठ ४)
यदि मलमास परेको वर्ष १३ महिनाको वर्ष हुने भए क्षयमास परेको वर्ष ११ महिना मात्र हुनु पर्ने भयो । तर अहिले २०८२ सालसम्मको पञ्चा·पात्रो बजारमा आइसकेको छ । तब २००१ सालदेखि हालसम्मको मात्र सम्पूर्ण क्यालेण्डर र पञ्चा· पात्रो थुपारेर हेर्न त सकिन्छ नि । ती मध्ये कतिवटा पञ्चा· १३ महिनाको छ र कतिवटा ११ महिनाको छ ? किनभने यति वर्षभित्र कतिचोटी अधिमास आएर गए । ती पात्रोमा देखिने नै कुरो हो । त्यति केलाउन पनि नसक्ने मान्छेहरुलाई पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको सदस्य बनाएर राखिएको छ भने त्यस्तो समितिबाट आउने प्रतिफल बेढ·ी आउने सिबाय अरु आउने संभव नभएको स्वतःसिद्ध छ ।
निष्कर्ष
हाम्रो पञ्चा·लाई सौरमान पनि चाहिन्छ र चान्द्रमान पनि चाहिन्छ । त्यसैले सौरमान एकलैले पनि पञ्चा· बन्दैन भने चान्द्रमान एकलैले पनि पञ्चा· बन्दैन । यही कुरा थाहा नहुनेले अधिकमास कसरी पर्छ थाहा हुँदैन । त्यसैले कुनै पनि दुईवटा संक्रान्तिको बीचमा संक्रान्तिलाई नछोएको सिंगो चान्द्रमास बस्न आयो भने त्यो चान्द्रमासलाई अधिकमास भन्छ त्यस्तै गरी जुन चान्द्रमासको दुइ पक्षमा दुईसंक्रान्ति देखापर्न आयोभने त्यस्तो बेला क्षयमास भनिन्छ भन्ने कुरा जुनसुकै ज्योतिषका पुस्तक पल्टाएर हेर्न सकिने कुरा हो । यति न्यूनतम कुरा थाहा नभएका जत्थालाई समितिको सदस्य बनाई तिनीहरुबाट आएको प्रतिवेदनको आधारमा हतारहतार जुन निर्णय संस्कृति मन्त्रालयबाट हुनगएको छ । यसले सिंगो देशलाई नै लज्जित बनाएको छ ।
हुन त निर्णय भएको हो तर त्यो निर्णय कार्यान्वयनमा आउन सकेन । यस बारेमा ती पर्वसुधारका झुण्डले आफ्नो निर्णय आफैले काट्ने भनेर संस्कृति मन्त्रालय माथि आक्रोस पोखेको छ र नेपाल पञ्चा·निर्णायकसमिति लगायतले भ्रम फैलाएको भनेर आरोप समेत लगाएको कुरा पुस्तिकाको २२ पृष्ठमा देख्न सकिन्छ ।
वास्तवमा यसले देशको इज्जत र प्रतिष्ठा जोगिन पुगेको अवश्य हो । त्यस कारण दूरदृष्टि राखेर त्यो निर्णय अविलम्ब खारेज गर्न गराउन जरुरी देखिएको छ । यदि खारेज भएन भने पछि फेरि त्यो रोगले मुलुकलाई फेरि ग्रसित नपार्ला भन्न सकिन्न । यसमा सम्बन्धित निकायले समय मै ध्यान पुर्याउन जरुरी छ । जय नेपाल आमा !