काठमाडौं, चैत १९ गते । किकबक्सिङ विकास कार्यक्रमअन्तर्गत ब्ल्याकवेल्ट ग्रेडिङ तथा रेफ्री÷कोच सेमिनारको बिहीबार औपचारिक उद्घाटन गरिएको छ ।
कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र एसियाली किक बक्सिङ महासंघका अध्यक्ष नासिर नासिरीले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रम भने बिहीबारदेखि सुरु भइसकेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले यस्ता कार्यक्रमले सहभागीको दक्षता वृद्धि गर्न ठूलो टेवा पुग्ने बताए ।
अध्यक्ष नासिरले नेपालमा किक बक्सिङ खेलको राम्रो माहोल रहेको बताउदै एसियाली किक बक्सिङ महासंघ ओलम्पिक काउन्सिल अफ एसियाको मान्यता प्राप्त संस्था भएको बताए ।
कार्यक्रममा सात प्रदेश र ३ विभागीय टोली (नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ) का प्रशिक्षक, खेलाडी र निर्णायक गरी करिब २ सय सहभागी छन् । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित कार्यक्रम शनिबार सम्पन्न हुनेछ ।
उद्घाटनका अवसरमा राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेपका सदस्यत्रय हिमालकुमार श्रेष्ठ, जगतसिंह धामी, सन्तकुमार मेहतालगायतको उपस्थिति रहेको थियो ।