काठमाडौं । मधेश प्रदेशले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत छात्र क्रिकेटको उपाधि बिहीबार जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मधेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो ।
लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि ताहिर अन्सारीले १३ र राहुल पासवानले १२ रन जोडे ।
बलिङमा लुम्बिनीका लागि सुरज यादव र कप्तान सन्दीप थापाले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८.५ ओभरमा अलआउट हुँदै ५१ रन बनाएको थियो ।
लुम्बिनीका लागि आरोनजंग गिरीले अविजित २९ र जोन ओलीले ११ रन जोडे । मधेशका लागि कृष्ण महतोले ३, खिलराज सराफ र कप्तान कमलेश दासले समान २ तथा मोहम्मद ओजैफ अलीले १ विकेट लिएका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । राखेपको आयोजनामा भएको यु–१४ राष्ट्रिय खेलकुदअन्तर्गत छात्र क्रिकेट अन्तिम प्रतियोगिता हो । विद्यालय खेलकुदमा क्रिकेटसहित एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबलटेनिस र बास्केटबलको प्रतिस्पर्धा भएको थियो ।