
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनौट क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा हङकङले नेपाललाई सात विकेटले पराजित गरेको हो । नेपालले जितका लागि ३० रनको लक्ष्य दिएकामा हङकङले ४.३ ओभरमा तीन विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो ।
वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् ।
यसअघि नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले दोस्रो खेलमा बहराइनलाई ९ विकेटले हरायो ।
प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भूटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ छ्न । समूह ‘ए’ मा भूटान, कुवेत र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् ।





