काठमाडौं। नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् । उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई शुक्रबार पराजित गर्दै उपाधि जितेका हुन् ।
‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले मिलनको चुनौती समाप्त पार्दै सफलता हात पारेका हुन् । उनले सेमिफाइनलमा पुनम प्रसाइँलाई पराजित गरेका थिए भने मिलनले सुजन काफ्लेलाई हराएर उपाधि होडको यात्रा तय गरेका थिए ।
पूर्वविश्व चेस च्याम्पियन बबी फिसरले सुरु गरेको फ्रिस्टाइल चेसको प्रतियोगिता नेपालमै पहिलोपल्ट आयोजना गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ । यसमा उपाधि विजेता क्षितीजले २५ हजार, उपविजेता मिलनले ९ हजार ६ सय, सेमिफाइनलमा रोकिएका पुनम र सुजनले समान ६ हजार ४ सय रुपिया प्राप्त गरे ।
हिमालयन चेस एकेडेमीले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा आयोजित कुल १ लाख २५ हजार रुपिया पुरस्कारको अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले जिते । स्वीस प्रणालीको आधारमा नौ राउन्ड सञ्चालित ब्लिज कपमा अपराजित रहँदै ७.५ अंक जोडेर राजनले पहिलो स्थान हात पारेका हुन् ।
सात जित, एक हार र एक बराबरीसँगै मुहान नरसिंह श्रेष्ठले ७.५ अंक बनाएका थिए । तर, उनलाई टाइब्रेकरको आधारमा उछिन्दै राजन च्याम्पियन भएका हुन् । सात जित र दुई हारको नतिजासहित ७ अंक बनाएका अभिक शाह तेस्रोमा रहे । राजनले १५ हजार, मुहानले ७ हजार ५ सय र अभिकले ६ हजार रुपिया हात पारे ।
१६ स्पर्धासमावेश ब्लिजमा महिलातर्फको उपाधि कुसुम तामाङले जितिन् । गल्र्सतर्फ यू ८ मा रुबेश्री चौलागाइँ, यू १२ मा निहाना श्रेष्ठ, यू १४ मा नायुमा मगर र यू १६ मा प्रज्ञा पन्त प्रथम भए । ब्वाइजतर्फ यू ८ मा शुभांग प्रधान, यू १० मा अभियान राई, यू १२ मा दीपन मैनाली, यू १४ मा प्रवीर केसी र यू १६ मा अनमोल राई पहिलो स्थानमा रहे ।
त्यस्तै, फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशिर्वाद थापा उत्कृष्ट ठहरिए । प्रतियोगितामा ५० खेलाडी सहभागि थिए ।
सात्विक वर्षका सर्बोत्कृष्ट खेलाडी
हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड पनि प्रदान गरेको छ, जवसमा सात्विकमान तुलाधरले प्लेयर अफ दि इयर २०२४ अवार्ड जितेका छन् ।
प्रेमविक्रम अधिकारी दुई विधामा अवार्ड जित्ने एक्लो खेलाडी बने । उनले फेयर प्ले र अनलाइन एरिना अवार्डमा सफलता हात पारेका हुन् । नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्वीन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जिते । एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम एचिभमेन्टबाट नगदसहित सम्मान गर्यो ।