
बिर्तामोड, पुस ६ | न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ ।
जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ ।
एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।
टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए भने विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो ।यसअघि खेलको ४२ औँ मिनेटमा एनआरटीका अञ्जन विष्टको प्रहार जागृतिका गोलरक्षक निरज चौधरीले बचाए । ७६ औँ मिनेटमा शिशिर लेखीले डिबक्सममा पाएको पासलाई फ्रेममा पार्न सकेनन् । ८३ औँ मिनेटमा नेमारको क्रसमा लेखीको हेडर गोलरक्षक चौधरीले पञ्च गरेर बचाए ।
जागृतिका लागि ५० औँ मिनेटमा खमिर गिल्सन कन्दङवाको कडा प्रहार एनआरटीका गोलरक्षक विशाल सुनारले पञ्च गरेर बचाए । ८२ औँ मिनेटमा योगेन्द्र कार्कीले २५ यार्ड टाढाबाट गरेको प्रहार फ्रेममा पर्न नसक्दा खेलको निर्णयको लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।
घम्साघमसीपूर्ण खेलमा रेफ्री प्रज्ज्वल महर्जनले आठवटा पहेँलो कार्ड देखाएका थिए । जागृतिका चार र एनआरटीका चार खेलाडीले पहेँलो कार्ड पाएका हुन् ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एनआरटीका गोलरक्षक सुनार भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।





