काठमाडौँ । ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बुगमलोकेश्वर (रातो मच्छिन्द्रनाथ) रथजात्राअन्तर्गत ‘नयक्या लुइकेगु’ ( नरिवल खसाल्ने) दिनका अवसरमा आज स्थानीय बिदा दिएको छ ।
रथको टुप्पोबाट‘नयक्या लुइकेगु’ ( नरिवल खसाल्ने) तिथि आज परेकाले सो दिन महानगरवासी जात्रामा सहभागी हुने भएकाले महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहजित राईले जानकारी दिएका छन् ।
ललितपुरको पुलचोकमा ३२ हात अग्लो रथमा बुगमलोकेश्वर (रातो मच्छिन्द्रनाथ) लाई विराजमान गराई गत वैशाख ८ गतेदेखि रथ तान्ने कार्य सुरु गरिएको थियो । रथलाई गा:बहाल, मंगलबजार, सुनधारा हुँदै लगनखेल पुर्याइएपछि बलि पूजा सम्पन्न गरी भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाल्ने परम्परा रहँदै आएको छ ।
धार्मिक परम्परा र संस्कृतिको सम्मानका साथ महानगरपालिकाले तीन वर्षअघि देखि ‘नरिवल खसाल्ने’ दिनलाई स्थानीय बिदा दिन २०८१ बैशाख १८ मा स्थानीय राजपत्रमा प्रकाशित गरिएको थियो ।