काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व।सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन्।
बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन्। उनले सुवासचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरूलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए।
उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे।
प्रतिष्ठान बनायो छोड्यो गर्ने नभई नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकांक्षा र प्रवृत्ति अनुरूप चल्नुपर्नै बताए।
‘सुवासचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शहरूलाई पछ्याएर केही कामहरू गरिरहनका लागि हामी एउटा सुवासचन्द्रजीका नाउँमा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु।’ उनले भने ।
उनले अघि भने, ‘यो यस्तो प्रतिष्ठान हामी एउटा प्रतिष्ठान बनायो छोड्यो होइन, एउटा प्रतिष्ठान समातेर बस्यो, काम केही नगर्यो होइन। नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशिल इच्छा, आकंक्षा र प्रवृत्ति अनुरूप चल्नेछ।’