
काठमाडौं।नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नयाँलाई अवसर दिने भएको छ ।
गत बुधबारदेखि जारी बैठकमा समानुपातिकतर्फको बन्दसूची तयार पार्ने काम अझै सकिएको छैन ।
यसअघि अवसर नपाएकाहरूलाई समेटेर बन्दसूची तयार पार्ने गृहकार्यमा जुटेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई प्रदेशगत रूपमा समूह विभाजन गरी छलफल चलाइरहेको छ । प्रदेशगत छलफलमा केन्द्रबाट प्रतिनिधित्व गर्ने पदाधिकारीको नेतृत्वमा प्रदेश सभापतिसहित उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समितिका सदस्यहरू सहभागी छन् ।
निर्वाचन आयोगले समानुपातिकको बन्दसूची पेस गर्न सोमबारसम्मको समय तोकेको छ । यसअघि बन्दसूची पेस गर्ने समय एक हप्तापछि सार्न गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि कांग्रेस छलफलमा जुटेको हो ।


