
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । महाधिवेशनको तालिका ल्याउनेरनल्याउने विषयमा देखिएको विवाद समाधानका निम्ति शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक डाकेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे प्रस्ताव प्रस्तुत गरे । पार्टीमा पछिल्लो समय विषयभन्दा ‘इगो’ प्राथमिकतामा परेको उनले उल्लेख गरेका छन् । उनले यस्तो अवस्थाले जुनसुकै पार्टीलाई धराशायी बनाउने उनले तर्क गरेका छन् ।
“एकातर्फ केन्द्रीय समितिको बहुमत छ, अर्कातर्फ ५४५ महाधिवेशन प्रतिनिधिको बहुमत छ,” शर्माले प्रस्तावमा भनेका छन्, “दुवै बहुमतको मर्यादा राख्दै दुवै बहुमतभन्दा माथिको निकाय महासमितिको राय डिजिटल भोटिङ सिस्टमझ बाट लिऊँ ।”
पदाधिकारी बैठकमा पेश महामन्त्री यस्ता छन् शर्माका प्रस्ताव –
१. ‘इस्यु’भन्दा ‘इगो’ केन्द्रमा रह्यो भने जुनसुकै राजनैतिक दल समस्यामा पर्छन् । आजको मितिमा कांग्रेसले राष्ट्रिय राजनीति र आन्तरिक जीवन दुवैमा इगोमुक्त भएर आफूलाई प्रस्तुत गर्न सक्नैपर्छ ।
२. एकथरी विचार राख्नेले नेतृत्वले अर्कोथरी विचार राख्नेलाई सार्वजनिक टिप्पणी गर्दा या शुभेच्छुकहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदा आपसी सम्मानको हेक्का राखौँ ।
३. मंसिर या वैशाख भनेर छलफलमा रहेका महाधिवेशनको दुई मितिभन्दा मध्यमार्गी समाधानको पुस १६–१९ को मितिमा सहमत बनौँ ।
४. सहमति जुट्न नसक्दा पक्ष–विपक्षमा धेरै विभाजित नबनौँ । एकातर्फ केन्द्रीय समितिको बहुमत छ, अर्कातर्फ ५४५ महाधिवेशन प्रतिनिधिको बहुमत छ । दुवै बहुमतको मर्यादा राख्दै दुवै बहुमतभन्दा माथिको निकाय महासमितिको राय डिजिटल भोटिङ सिस्टमबाट लिऊँ ।
५. महासमिति सदस्यसमक्ष दुई छनोट राखौँ–
(क) पार्टीको १५औँ महाधिवेशन आमनिर्वाचनअघि गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जान उचित,
(ख) कि आमनिर्वाचनपछि महाधिवेशन गर्न उपयुक्त छ ?
६. डिजिटल भोटिङको माध्यमद्वारा राय या मत संकलन प्रविधिको यो जमानामा सामान्य प्रक्रिया हो । दुई दिनमा नै यो प्रक्रिया सकिन्छ । एउटा पुरानो दलमा यसको अभ्यासले विशेष सन्देश पनि दिनेछ । स्वदेश र विदेशमा छरिएर रहेका महासमिति सदस्यहरूको राय र मत संकलन गर्ने विकल्प अहिलेको समयमा अत्यन्तै लोकतान्त्रिक र अत्यन्तै महत्त्वपूर्ण हुनेछ ।







