काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको शुभकामना दिएका छन् ।
संविधान दिवसका अवसरमा आज बिहान वक्तव्य जारी गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका हुन् ।
शुभकामना संदेश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए ।
उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका छन् ।संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, बचन र कर्मले समर्पित भई आ-आफ्ना तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न पनि राष्ट्रपति पौडेलले आह्वान गरेका छन् ।