काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृह खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गर्ने अन्तिम तयारी अघि बढाएको छ। आयोगले १२ करोड लागतमा भएको शवदाह गृहमा चारवटा फर्नेश र एउटा जेनेरेटर खरिदमा अनियमिता भएको भन्ने उजुरीमाथि विस्तृत अनुसन्धान सकेर विशेष अदालत काठमाडौँमा मुद्दा चलाउने तयारी गरेको स्रोतले जानकारी दियो। पशुपतिमा सुनको जलहरी काण्डमाथि अनुसन्धान गरेको आयोगले अर्को ठूलो घोटालामाथि पनि छानबिन गरेको हो।
२०८० साल असोजमा भएको खरिदमा तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किराँती, कोषका तत्कालीन सदस्य सचिव मिलनकुमार थापा, थापा, कार्यवाहक सदस्य सचिव राजुकुमार खत्री, कोषका तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडासहितका पदाधिकारी अनुसन्धानमा तानिएका छन्। किराँती माओवादीबाट तत्कालीन माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेलाका पर्यटनमन्त्री हुन्। उनी प्रतिनिधिसभाका सदस्यसमेत रहेका छन्। अनियमिततामा पर्यटन मन्त्रालयका तत्कालीन सचिव सचिव भरतमणि सुवेदी, जो अहिले निर्वाचन आयोगकोको सचिवमा कार्यरत छन्।
उनीसहित एक दर्जनभन्दा बढी अधिकारीमाथि आयोगले अनुसन्धानका क्रममा बयान लिएको छ। आयोगले स्रोतका अनुसार बयान लिएकामध्ये को-कोविरुद्ध मुद्दा चलाउने भन्ने छिनोफानो भएर प्रक्रिया अघि बढ्ने क्रममा छ। स्रोतका अनुसार क्षेत्रविकास कोषका कर्मचारी रेवतीरमण अधिकारी, उद्धव विष्ट, वरिष्ठ इन्जिनियर पशुपति ठाकुर, इन्जिनियरद्वय डेनिस उप्रेती र रमेश पुरीसमेत अख्तियारको छानबिनमा परेका छन्। आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतलाई पनि अनुसन्धानको दायरमा ल्याएको छ।