काठमाडौँ, करुणा, अहिंसा र पशु अधिकारको प्रवर्धन गर्ने उद्देश्यले तीन-दिने “अहिंसा महोत्सव नेपाल २०८२” नेपाल शाकाहारी सङ्घले विभिन्न कार्यक्रम गरि मनाउने घोषणा गरेको छ ।
२०८२ भदौ १२ देखि १४ गते (अगस्ट २८-३०, २०२५)सम्म प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा सन्चालन हुने महोत्सव सबैका लागि निःशुल्क प्रवेशको ब्यबस्था हुनेछ।
“करुणाले जोड्दछ” भन्ने नाराका साथ आयोजना गरिने यस महोत्सवले पशुपक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि “पूर्ण शाकाहारी” जीवनशैली अपनाउन प्रेरित गर्नेछ।
अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित महोत्सवले पशुमुक्ति अभियन्ता, सङ्घसंस्था र समुदायबीच सम्बन्ध र सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको छ।
महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवनपद्धति, शाकाहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया; फ्ल्याश मब; साङ्गीतिक प्रस्तुति; योग सत्र; देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान; शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन; र विशेष रात्रिभोज को ब्यबस्था रहनेछन्।
३०,००० भन्दा बढी सहभागी र ५०,००० भन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको महोत्सवमा शाकाहारी उत्पादनका ६० भन्दा बढी स्टल, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी संस्था सहभागी रहनेछन्।
यसअघि (२०७४ सालमा) सङ्घले काठमाडौँमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितासहित आयोजना गरेको आठौँ एसिया-प्यासिफिक भेजिटेरियन कांग्रेस (एपीभीसी)को सफलतालाई निरन्तरता दिँदै यो महोत्सव आयोजना गर्न लागेको हो।