
ललितपुर । नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदुतले बिहीबार ललितपुरको पुल्चोक पुगेर वर्षा र सहकालका देवता मानिने पद्मपाणि अवलोकितेश्वर (रातो मच्छिन्द्रनाथ)को रथ यात्रा अवलोकन गरेका छन् ।
ललितपुर महानगरको निमन्त्रणामा उनीहरुले रथ यात्रा अवलोकन गर्न पुल्चोक पुगेका हुन् । रथ यात्राको अवलोकनका लागि विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि पनि आएका थिए ।
रथयात्रा हेर्न ललितपुर आएका विदेशी पाहुनालाई महानगर प्रमुख चिरीबाबु महर्ज, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन समितिका संयोजक एवं वडा नं.५का वडा अध्यक्ष विकासमान श्रेष्ठ, प्रवक्ता एवं वडा नं.९का वडा अध्यक्ष राजु महर्जन लगायतले स्वागत गरेका थिए ।
निम्ता मान्न आउनेहरुमा युरोपेली युनियनका राजदुत भेरोनिका लोरेन्जो, इजरायलका राजदुत श्मुलिक एरीबास,जापानका राजदुत मेडा तोरु, बेलायतका राजदुत रब फेन, अमेरिकी दुतावासका पब्लिक अफियर्स चिफ जेहरा नाक्यूभी लगायतको उपस्थिति रहेको थियो । युनेस्को, युएनडिपी, युएनएचसीअरका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
त्यसैगरी भगिनी सम्बन्ध कायम भएको रसियाको उलान उदे सहरका नगर प्रमुख र उनको प्रतिनिधि मण्डल पनि रथ यात्रा अवलोकनमा सहभागी भएको थियो । यसका साथै अखिल भारत नेवार संगठनका आसाम इकाईका लिलबहादुर प्रधान र केन्द्रका सूर्य नारायण प्रधान पनि निम्ता मान्न आए ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु पद्मपाणि अवलोकितेश्वर (रातो मच्छिन्द्रनाथ)को परिचय र चर्चालाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ दिन राजदुत र अन्तर्राष्ट्रिय विकास साझेदार संस्थालाई निम्तो दिएको बताए । पद्मपाणि अवलोकितेश्वर (रातो मच्छिन्द्रनाथ)को रथ हेर्न आएका विदेशी पाहुनालाई उद्धृत गर्र्दै महानगर प्रमुख महर्जनले भने, ‘ एकदमै राम्रो लाग्यो भन्नुभयो, यस्तो रथ यात्रा अहिलेसम्म नहेरेको बताउनुभयो , हामीसबैलाई उहाँहरुले निम्ता दिएकोमा धन्यवाद दिनुभयो । ’पद्मपाणि अवलोकितेश्वर (रातो मच्छिन्द्रनाथ)को रथ बिहीबारबाट तान्न सुरु गरिएको हो । पुल्चोकबाट रथलाई तानेर गावहाल पुर्याइएको छ ।
गावहाल सुन्धारा हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङमती पुर्याइन्छ ।




