हरिप्रसाद चौलागाईं
काला र सेता जुटे
छन्द : शार्दूलविक्रीडित (मसजसततगुरु)
जोडिन्छन् अनि फुट्दछन् खलहरू हुन् स्याल ब्वाँसा यिनै ।
भाच्छन् भाग मिलेन क्यै यदि भने दारा र नङ्ग्रा सबै ।।
साँढे मार्नुपर्यो भने सब जुटे मारे अघाए सुते ।
मिल्दा स्वार्थ अचम्मले अझ यहाँ काला र सेता जुटे ।।१
मार्छन् कष्ट दिएर ती गगनका सेता परेवा कठै ।
को बाँच्ला यिनका अगाडि श्रमका स्वच्छन्द साखा कतै ।।
माटो खानु पर्यो भने पनि जुटे गोही अघाई सुते ।
आमाका पसिना सुकाउन सधैं काला र सेता जुटे ।।२
घुम्छन् बाज लुकेर बादल तिरै हेर्छन् हेर्छन चरा बागमा ।
मीठो गन्ध चलाउँछन् पवनमा घाती छ अन्तर्यमा ।।
कोसी स्वाट्ट पिए अझै पनि अहो के तृप्त हुन्थे ठुटे ।
झट्टै गण्डक पानगर्न मनभो सेता र काला जुटे ।।३
सारा जङ्गल राज वृद्ध खलको उर्जा कता हो कता ।
आमाको मुटु ठुँग्दछन् रगतको आस्वादमा लिप्त भै ।
के गर्थे गणको भलो अधमले भागै नमिल्दा फुटे ।
आफ्नो स्वार्थ पूरा गराउन यहाँ सेता र काला जुटे ।।४
आमाको तन जिर्ण जिर्ण छ अहो पर्दैगएको थला ।
तारे सागर काखका तनयको झल्क्यो मदारी कला ।।
बाला यौवन भोकका र सपना आस्था हजारौं लुटे ।
सारा देश डुबाउने बखतमा काला र सेता जुटे ।।५