चर्चामा पुस्तक
डायस्पोरा सपना
कृष्ण बजागाईंको कविता कृतिभित्र तीस थान कविताहरु समावेश छन् । विगत पच्चीस वर्षदेखि डायस्पोरा जीवन व्यतित गरेका उनमा डायस्पोरिक काव्यचेतको प्रचुरता कविताहरुले देखाएका छन् । डायस्पोरा जीवनका संघर्ष,दुःखका छालहरु मज्जैले कविताहरुले उधिनेका छन् । त्यहाँ बसेर सुखको निम्ति देखिने सपनाहरुका मार्ग पनि कविताले कोरेका छन् ।त्यहाँका प्राकृतिक चीजविज,नदी,मन कुँडाउँदै खिचिएका सेल्फि,भोगेका दुःख,मनमा उब्जेका प्रश्न,परदेशमा देश सम्झेर पनि हराउन बाध्य प्रवासी पीडा लगायतका विषयहरुमा कविताहरु कोरिएका छन् ।
सरल,सहज,बिम्ब र प्रतिकको आवश्यक प्रयोगले कविता पठनीय बनेका छन् ।
डायस्पोरा सपनालाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.१९०। रहेको छ ।
साई सुमनका गजलहरु
गजलकार हुन सुमन शर्मा । यसकृतिभित्र एकसय त्रिपन्न गजलहरु छन् । गजलको महत्वपूर्ण तत्व बहरहरुको उपलब्धतामा छन् गजलहरु ।अनुभूतिमय अभिव्यक्तिमा प्रयोग भएका सेरहरुले गजलहरु सुन्दर बनेका छन् । गहन अर्थ र भाव बोकेका छन् । केही बहुप्रचलित र केही प्रचलित प्रयोग भएका छन् बहर ।
यही समाज,समय र परिवेश गजलका विषय बनेका छन् ।जीवन बोधको अभिव्यक्ति,विकृति विरुद्ध कटाक्ष,सन्देशमूलक गजल पनि छन् । प्रेम र प्रणयका विषय पनि छन् । देशप्रेम र अन्यायको विरुद्ध आवाज बुलन्द पनि गरिएको छ ।
गजल सौन्दर्य चेतले पर्गेलेर लेखिएका छन् ।
साई सुमनका गजलहरुलाई गजल प्रवद्र्धन केन्द्रले प्रकाशित गरेको हो । यसको मूल्य रु.२५० राखिएको छ ।
म हरेश खान थालेको छु
रामबाबु घिमिरेका अठार थान निबन्धहरु समावेश यो कृतिभित्र निष्काम कर्मयोगीको कुरा गरिएको छ। जीवन जीउने क्रममा जीवनको गोरेटोमा कच्चा पदार्थको खोजी गरिएको छ। निबन्धमार्फत हरिभक्त कटुवालको सम्झना गरिएको छ । मान्छेको नारीप्रतिको आशक्ति,बृद्धाबस्था,भुइँमान्छेका समस्या,पैसाको महत्व,विद्धत्ता,नायिकाको खोजी जस्ता विषयहरुमा निबन्ध कोरिएको छ ।
आत्मपरक शैलीमा छोटा निबन्धहरुको कृतिमा बाहुल्यता छ । सरल भाषामा कोमल र सुललित निबन्धहरु छन् । छोटा भएकोले एक झमट बसाईमा पढिसकिन्छ ।
म हरेश खान थालेको छु निबन्धकृतिलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.१५०। रहेको छ ।