पहाड
डा. शेखरकुमार श्रेष्ठ
दक्षिणकाली
ऊ बिचमा ठिङ्ग
उभिएको छ
कसैको प्रतीक्षामा
आफूभन्दा केही अग्ला र
होचा मित्रहरूको साथमा ।
उसले विवेकी जातको
योजना सुनेको छ
यन्त्रवादी उसलाई विरोधी मान्छन्
ज्ञानीहरू प्राकृतिक अवतार ठान्छन्
उसले सृष्टि बुझेको छ
ऊ समर्थन गर्दैन
विरोध पनि गर्दैन
आफूलाई प्रकृतिको अंश ठानेर
प्रतीक्षामा बस्दछ ।
ऊ उपत्यका छुट्याउन
समथरबाट माथि उठ्छ
भन्ज्याङ, देउराली, गौँडा
अनेक भूगोल
फलफूल, वृक्ष, जडीबुटी अनेकताको
पहिचान लिएर हाँस्छ
ऊ ग्रीष्ममा तातो हावा रोकेर
शीतलता दिन्छ
हिउँदमा तसारोसँग लड्न
न्यानो हावा दिन्छ
ऊ दिनरात कर्ममा जुट्छ ।
ऊ अव्यवस्थासँग कायल छ
भाव बुझ्नेसँग नजिक छ
कल्पनामा रमाउनेलाई आनन्द दिन्छ
पर्यावैज्ञानिक उसलाई
प्रकृति र जीवनसँग जोड्छन्
आस्तिकहरू देवता मान्दछन्
कर्मवादी कर्मको भकारी मान्छन्
ऊ निरन्तर
बाँच्ने र बचाउने कर्म गर्छ
कर्म गर फलको आशा नगर
उसको मन्त्र हो
यसलाई ऊ आफ्नो ज्ञान मान्छ ।