काठमाडौं। २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको दशकदशकका कथावाचन कार्यक्रमको सत्ताइसौं श्रृङ्खला मिति २०८२ माघ २३ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
प्रत्येक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने चलन अनुसार यस पटक दिवंगत स्रष्टा लक्ष्मीनन्दन शर्मा चालिसेको ‘लतमाया’ शीर्षकको कथा वाचन गरेर उनिप्रति सम्मान प्रकट गरिएको थियो । उक्त कथा ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष ६ सङ््ख्या १ (विसं १९९७ बैशाख महिना)बाट कथाकार सुभाषचन्द्र पौडेल भीमफेदीयाले वाचन गरे ।
कार्यक्रममा २०४० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार राशि पाण्डेले ‘सिङ्थाजी’ शीर्षकको आफ्नो कथा वाचन गरे । उक्त कथा गरिमा साहित्यिक मासिक पत्रिकाको वर्ष ६ अङ्क ७ पूर्णाङ्क ६७ (२०४५ साल असार) मा ‘समयको घाउ’ शीर्षकबाट प्रकाशित भई पछि लेखकको आफ्नै कथासङ्ग्रह ‘सभानाको आगोे’ मा सङ्गृहीत छ ।
त्यस्तै, २०६० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार मधुसूदनप्रसाद घिमिरेले दायित्व साहित्यिक पत्रिकाको वर्ष १७ पूर्णाङ्क ४६ (२०६० साल असार) मा प्रकाशित कथा ‘गहिराइ’ वाचन गरे ।
दुवै स्रष्टाले वाचन गरेका कथामाथि कार्यक्रममा नयाँ अभ्यासस्वरुप उपस्थित श्रोताहरूले गरेका प्रश्न तथा जिज्ञासा राखेका र तिनको उत्तर सम्बन्धित कथाकारले दिएका थिए ।
त्यसपछि कथाकार पाण्डेको ‘सिङ्थाजी’ कथाबारे समालोचक प्रा.डा भरतकुमार भट्टराईले टिप्पणी गर्दै भने, “यस कथाको शीर्षक नै आकर्षक छ । तामाङ भाषाको शीर्षक भएको यस कथामा तामाङ जाति, तामाङ समाज, तामाङ संस्कृति र तामाङ मनोविज्ञानको सुन्दर चित्र उतारिएको छ ।”
डा भट्टराईले भने, “यो कथा त्रिकोणात्मक छ । यस्ता कथालाई साह्रै शक्तिशाली मान्छन् नाटककार बालकृष्ण सम । यस कथामा कथाकारको लेखनको उच्च सामथ्र्य पाइन्छ ।”
कथाकार मधुसूदनप्रसाद घिमिरेको कथामाथि समालोचक पबित्रा अधिकारीले टिप्पणी गरे । उनले भने, “यो कथा निबन्धात्मक शैलीमा भएकाले पढ्दा निबन्धको स्वाद पाइन्छ । यो बाजे, बाबु र छोराको कथा हो ।“
कार्यक्रममा अभियानका परिकल्पनाकार कथाकार/नियात्राकार चन्द्रप्रसाद भट्टराईले पुराना नेपाली कथा र कथाकारहरूबारे खोज र अनुसन्धान गर्ने यस अभियानको एउटा उद्देश्य रहेकाले त्यसै अनुसार कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गर्ने गरिएको प्रष्ट पारे ।
अत्यन्त अनौठो शैलीको कथा ‘उसने कहा था’ लेखेर प्रसिद्धिको शिखरमा पुगेका हिन्दी कथाकार चन्द्रधर शर्मा गुलेरीका अन्य कथाहरूबारे पाठकहरूमा जिज्ञासा बढ्न गई तिनकोे ब्यापक खोजी गर्दा ‘घंटाघर’ शीर्षकको कथा प्रकाशनको असी वर्षपछि फेला परेको रोचक तथ्यको जानकारी पनि भट्टराईले गराए । उनले नेपाली कथाको विकासक्रम हेर्दा प्रारम्भिक कालमा महिला कथाकारको सङ्ख्या शून्य रहेकोमा हाल क्रमशः बढ्दै गए पनि पुरुषको तुलनामा निकै कम रहेको विश्लेषण गरे ।
कार्यक्रमको अन्त्यमा अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले वि.सं २०१३ देखि आफु नेपाली साहित्यको सेवामा लागेको कुरा स्मरण गरे । उनले भने, “साहित्यमा म गोविन्दप्रसाद लोहनीको निकट सम्पर्कमा रहेको हुँदा उहाँबाट माक्र्सवादी र फ्रायडवादी साहित्यको बारेमा थाहा पाएँ । त्यसपछि मैले फ्रायडवादी साहित्यको अध्ययन गरेँ र त्यसै धारमा लेख्न थालेको हुँ ।”
उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम संचालन गरे ।
यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ ।