298विक्रमसंवतदेखि लुम्बिनीसम्म
इतिहासमा लुकेका तथ्यहरुको उजागर गर्ने डा.श्यामसुन्दर राजवंशीको इतिहास र संस्कृति सम्बन्धि महत्वपूर्ण कृति हो । विभिन्न ऐतिहासिक कुराहरु खोज र अनुसन्धानका आधारमा तथ्यको सन्निकट रहेर लेखिएको कृति ऐतिहासिक स्रोत र प्रमाणहरुको आधारमा समानुकुल परिमार्जन र संशोधन हुँदै जाने कुरालाई कृतिमा अनुकरण गरिएको छ ।
नेपालसंवत् र इस्वीसन,नेपालमण्डलभित्रका विभिन्न जात्रापर्व सम्बन्धि नयाँ जानकारी,तिहार लगायतका चाडपर्वहरुको मनाउने तरिका,लुम्बिनी लगायतका धार्मिक र ऐतिहासिक महत्वका स्थलहरुको बारेमा नयाँ तथ्यहरुले कृति भरिएको छ ।
कृति इतिहासका अनुसन्धानदाता,शोधकर्ता,अध्यापक,विद्यार्थी लगायत चासो राख्ने सबैलाई महत्वपूर्ण छ ।
विक्रमसंवतदेखि लुम्बिनीसम्म कृतिलाई खबरनेट मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.६००। रहेको छ।
कैलाश कोरा
राजेन्द्रमान डङ्गोलको नियात्राकृतिभित्र कैलाश पर्वतको समग्रताको जानकारी पाइन्छ । प्रकृति र संस्कृतिको अनुपम संगमको रुपमा प्रख्याती पाएको कैलाश पर्वत धार्मिक रुपमा समेत उतिक्कै महत्वको मानिन्छ । नियात्राकारले हरेक पाइलामा संगालेका अनुपम र चाखलाग्दा अनुभूतिहरुको सुन्दर शब्दशील्पमा खिपेर नियात्रा लेखेका छन् ।कैलाश यात्रा सुन्दा मज्जा लाग्ने तर कठीन यात्रा हो । यस यात्राको मज्जा लिन जो कोहीले कहाँ पाउँछन् ।यात्राका चूनौतीसंगै पाइला पाइलाका रोमाञ्चक अनुभूतिहरु उधिनेर लेखिएको कृति पठनीय छ ।
पुस्तक पढेपछि नियात्राकारसंगै यात्रा गरेको भान पर्छ । थुप्रै तथ्यहरुको जानकारी पाठकले पाउँछ । त्यहाँका प्राकृतिक सौन्दर्यहरुले आस्वादान गराउँछ । कथा पढेजस्तो, सुललित भाषामा लेखिएको नियात्रा नीजात्मकताले भरिएको छ । तथ्यहरुले खँदिलो जानकारीमूलक छ । स्थानीय कुराहरुको प्रचुरता छ ।
कैलाश कोरालाई नेपालयले बजारमा ल्याएको हो । यसको मूल्य रु.३९५।रहेको छ ।
बलेँसी
संयुक्त लघुकथासङ्ग्रहभित्र १सय थान लघुकथाहरु समावेश गरिएका छन् । लघुकथाका प्रवर्तक मानिएका पूर्णप्रसाद ब्राह्मणदेखि सिजन श्रेष्ठसम्मका लघुकथाले स्थान पाएका छन् ।विमल भौकाजीको सम्पादन तथा श्रीराम राईको संयोजनमा यो कृति आएको हो ।
लघुकथाका विभिन्न आयाम भरिएका यो कृतिभित्र प्रत्येक लघुकथाकारको संक्षिप्त परिचय सहित तस्वीर पनि राखिएको छ ।
लघुकथाको वर्तमान समयमा पाठकसँख्या बढ्दो अबस्थामा बलेँसीले पनि पाठकहरु पाउँने कुरामा शंका छैन् ।
बलेँसीलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको छ । यसको मूल्य रु.४००। राखिएको छ ।