सुनको भाउ
समीर पाख्रिन
सुरज र कान्ताको अनुहार मलीन छ । उनीहरू पार्कको एउटा बेञ्चमा बसेका छन् । सुरजको बाआमा सुनको भाउ नघटेसम्म बिहे हुन सक्तैन भन्ने अडान लिएर बसेका छन् भने कान्ताको बाआमा छोरीको बिहे गर्न हतारिएका छन् ।
यसैले दुवै प्रेमीप्रेमिका आफ्नो प्रेम सम्बन्ध संकटमा परेको देखेर विगत केहीदिनदेखि तनावमा छन् ।
लामो समयको मौनता तोड्दै कान्ताले मुख खोली ‘ हिजोआज मलाई माग्न खै कहाँ कहाँबाट आउने गरेका छन् । मैले पढाइ नसिद्धि बिहे नगर्ने भन्दै आएकी छु ।’
‘के गर्ने ? भागेर कतै जाने हो त ?’ सुरज बोल्यो ।
‘नाई मलाई डर लाग्छ । बुबा एकदम कडा स्वभावको हुनुहुन्छ । उहाँले हामी जहाँ पुगेपनि खोजेर निकाल्न बेर छैन ।’ कान्ताले भनी ।
‘ त्यसो भए के गर्ने त ? ‘ सुरज फेरि घोत्लियो ।
‘तिमी बुबालाई भनेर माग्न आई हाल छिट्टै । म सँधै भरि बहना गरेर छेक्न सक्तिनँ । ‘ कान्ता अधैर्य बनी । सुरज बोल्न सकेन । उ जुरुक्क उठ्यो र भन्यो ‘ म भोलि घर जाँदैछु । म बुबालाई लिएर चाँडै तिम्रो हात माग्न आउँछु । अब उठौँ । ‘
दुवै उठेर आआफ्ना गन्तव्यतिर लागे ।
सुरजले घरमा विद्रोह गर्यो । यता कान्ताको जीवनमा पनि बज्रपात भयो अर्थात् क्यानाडा बस्ने केटा माग्न आएपछि कान्ताले बलीको बोको नबनी सुख पाएन । माग्न आएकै दिन टीका टालो समेत गरिदिए कान्ताको बाआमाले । त्यसदिनदेखि कान्ताको सम्पर्क टुट्यो ।
सुरजको बाउले बाटोसित्तै जोडिएको एक कठ्ठा जग्गाको बैना बुझेँ । अनि, भोलिपल्टै छोरालाई लिएर केटी माग्न हिँडे ।
कान्ताको घर पुग्नै लाग्दा अघिअघि हिँडीरहेका दुई महिलाको कुरा सुनेर सुरज छाँगोबाट खसे सरह भयो ।
उसले बुबालाई भन्यो ‘बुबा, फर्कौ । सुनको भाउ घटेपछि बिहे गरौँला ।’