
काठमाडौं। कवि किशनसिंह धामीको नविनतम कविता कृति सम्बोधनमा छोरी तथा डा.हिरण्यलाल ज्ञवालीको समालोचना कृति एटलान्टिकका भँगालामा डुबुल्की मार्दाको लोकार्पण भयो ।
राजधानीमा आयोजित एक कार्यक्रममा डा.विष्णुविभु घिमिरे,प्रमोद प्रधान,प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’,राधेश्याम लेकाली र श्रष्टाद्धय लगायतले उक्त कृतिहरु लोकार्पण गरे ।
नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.घिमिरेले धामी पश्चिम नेपालको बिम्ब भएको बताए । प्रवासमा पनि भाषा,साहित्यमा केही गरौं भन्ने हुटहुटीले विभिन्न साहित्यिक क्रियाकलापमा नेतृत्व गर्ने धामी अमेरिकाको घरको दलानबाट नेपाल हेरिरहने व्यक्ति हो । उनले भने । हार्दिक भावका धनी ,सहयोगी मनका असल व्यक्ति रहेको बताए । लेख्नु भनेको कसैको मनमा बस्नु हो भन्दै उनले राम्रो लेख्न गाह्रो भएको पनि बताए ।
सम्बोधनमा छोरीमाथि प्रा.डा.गौतमले टिप्पणी गर्ने क्रममा भने- ‘व्यक्ति मािथ उठेर संस्था बनेका उदार मनका धनी संवेदनात्मक ह्रदय भएको मान्छेको एउटा बाबुले छोरीलाई सम्बोधन गर्ने क्रममा जन्मिएको काव्य हो सम्बोधनमा छोरी । यो भावना,संवेदना र अनुभूतिको त्रिवेणी हो ।’ उनले कृति छोरी भएको पिताले त अनिवार्य पढ्नुपर्ने बताए ।
अर्का समालोचक प्रधानले एटलान्टिकका भँगालामा डुबुल्की मार्दा किशनसिंह धामीको कविताकृति माथिको समालोचकीय दृष्टि रहेको बताए । उनले भने -‘यस समालोचनालाई दुई भागमा विभाजन गरी डा.ज्ञवालीले गद्य र पद्य दुबैमा समालोचना गरिएको छ । डा. ज्ञवाली छन्दमा कविता लेख्ने कुशल कवि हुन भन्ने यो कृतिले पुष्टि गरेको छ । ‘प्रधानले अगाडि भने -‘कवि धामीको लेखन र विचारहरु समालोचनाले मुखरित गरेको छ ।’
यसैगरी नेपाल स्रष्टा समाजका अध्यक्ष रोदनले शुभकामना मन्तव्य दिंदै विदेशमा बसेर नेपाली भाषा साहित्यलाई माया गर्ने हार्दिक भावनाको व्यक्तिको रुपमा धामी रहेको बताए ।
अध्यक्ष राधेश्याम लेकालीले धामीको व्यक्तित्व र योगदानको चर्चा गरे ।
कवि सन्ध्या पहाडीले लोकार्पित कृतिबाट कविता सुनाएको उक्त कार्यक्रममा स्रष्टाद्धय डा.ज्ञवाली र धामीले पनि आ आफ्नो भावना राखेका थिए ।
कार्यक्रमको सञ्चालन कवि मुरारी सिग्देलले गरेका थिए ।

