संस्मरण
एकसय लिएर काठमाडौँ
छविरमण सिलवाल
बाल्यकालका संस्मरणहरु खोल्दै गर्दा पुनः बाल्यकालमै पुगिन्छ । त्यो समाजका कुरा यो समाजले पढ्दा रमाइलो मनोरञ्जन लिन्छन्, त्यसैले पनि हाम्रा कुरा भावी पुस्ताहरुलाई पढाउँनु पर्छ । हामीले भोगेको यथार्थ हाम्रा सन्ततिका लागि रसिला कथा बन्न सक्छन् । हाम्रा दुःख, भोगाई उनीहरुले नपत्याउन सक्लान तर, पढेर मनोरन्जन भने लिन सक्छन् । हाम्रो भोगाई र उनीहरुको भोगाईमा आकाश जमिनको फरक छ । हाम्रो त्यो भोगाईका क्षण हामीलाई नै होइन जस्तो लाग्छ, कहिले काही, तर भोग्ने हामी सकुशलै छौँ, र समाज जस्ताको तस्तै छ । केही पुराना पात फेरीए, केही नयाँ पालुवा पलाए मात्र फरक यही हो । पात फेरीने र पलाउने क्रममा हामी उभिएका छौँ, अहम्को पर्खालमा, त्यो पर्खाल कतिबेला ढल्छ हामीलाई पत्तै हुँदैन ।
हाम्रो बसोबास गाउँमै थियो, बेँसीमा थिएन । गाउँमा सबैको घर थियो, बेलुका घर जाँदा धेरै जना गफिदैँ उकालो लाग्दा, घर पुगेको पत्तै नहुने । सबैको घर जाने समय भनेको प्रायः एउटै हुन्थ्यो । कोही रित्तो हुने थिएन कसैले के कसैले के बोकेका हुन्थे बेँसी झर्दा, कम्पोष्ट मल, घाँसपात बोकेर झर्दथे । बेँसीबाट जाँदा पराल तथा सिजन अनुसारको खाद्य सामाग्रीहरु बोकेर उकालो लाग्दथे । गाईबस्तु प्रायः बेँसीमै हुन्थे । गाईबस्तु चराउँनको लागि पाखाहरु खुल्ला थिए । लगभग पैतालीस मिनेटमा गाउँ बेसी गर्न सकिन्थ्यो, त्यति टाढा पनि थिएन । विस्तारै मान्छेहरुलाई बेँसीको सुविधाले मोहनी लगाउँदै लग्यो । पहिला बेँसीमा औलो लाग्छ भनेर कोही बस्दैनथे । अहिले बेसींमै सर्न थाले । हाम्रो भने त्यति राम्रो घर नभएको कारणबाट गाउँमै बस्ने गर्दथ्यो, भएको पुरानो गोठमा दाजु अलग्गिएर बसेको कारणबाट बेँसीमा घर थिएन् । बुबाको तुरुन्तै घर बनाउँन सक्ने स्थिति थिएन । हामी सानै थियौँ । त्यसकारणले पनि हामीले गाउँ छोड्न सकिरहेका थिएनौ । मान्छेलाई जति सुख सुविधा भए पनि पुग्दैन, उसका एक पछि अर्को विलासिताका कुराहरु भोग्न तम्सिरहन्छन् । अहिले गाउँको हाम्रो घर भत्किएकोे छ । साहुटोलको त्यसबेलाको रौनक अहिले झाडीले खाएको छ । उनीहरुका सबै घरहरु भग्नावशेषमा परिणत भएका छन् । हाम्रो घरको पनि त्यही हाल छ । प्रायः सबैले गाऊँका घर जग्गाहरु बिक्री गरिसकेका छन् । बिक्री नगरेकाहरुको धाँस काटिरहेका छन् । काम गर्ने मान्छेहरु नपाइने हुनाले जमिन बाँझिएका छन् । बेँसी अहिले शहर बनेको छ, गाउँ खण्डहर । बुबाले भने जस्तै समय समयको कुरा हो–‘कहिले सासुको पालो कहिले बुहारीको पालो ।’
गाउँमा कुनैकुनै काम गर्न मलाई औधि गाह्रो लाग्दथ्यो । जस्तै चैत्रको महिनाको गर्मीमा गहुँ चुट्ने, दोहोरो मकै गोड्ने, धान गोड्ने र आली लगाउँने यी काम देखि म तर्कन्थे । तर्केर सुख थिएन, गर्नै पर्ने बाध्यता थियो । म यी काम गर्नुपर्यो भने केही न केही बहाना बनाएर उम्कने कोशिस गर्थे । बरु गाई चराउँन जान्थे, घरमा खाना पकाएर बस्थे, खाजा बनाएर लैजान्थे । सधैँ त्यो संभव पनि थिएन्, बाध्यताले म कहिलेकाहीँ परिहाल्थेँ । काम शुरु गरेपछि भने निरन्तर लगनशिल भएर लाग्थे । अल्छी गर्दिन थिएँ । आफ्नो जिम्माको काम सधैँ फत्ते गरेर आउँथे ।
गाउँको कुरा गर्दा म निकै भावुक हुन्छु । बाल्यकाल बिताएका ती दिनहरु कति निश्चल थिए । कति उत्सुकता थिए, कति उत्साहित थिए, तिनै उर्जावान दिन सम्झदा अहिले मन फुरुङ्ग हुन्छ । शरीरमा शक्ति प्रवाहित भएको अनुभूति हुन्छ । मलाई यस्तो सुखद अनुभूति दिने त्यो गाउँको प्रेरणाका पात्र मेरा आमाबुबा नै थिए । उहाँहरुको निश्चलता र सोझोपनको अहिले म सिको गर्दैछु । आखिर जीवन के नै रहेछ र ? अहिले बुबाले छोेडेर जानु भएको पनि तेइस वर्ष भएको छ । अहिले आमाले पनि छोडेर जानुभयो । आमाबुबा ईश्वरीय रुप धारण गरेर हाम्रा कार्यका मूल्याङ्कन गरिरहनु भएको होला जस्तो लाग्छ मलाई । त्यसैले त उहाँहरुको पदचाप हामीलाई प्यारो भएको छ । उमेरले आधा शताब्दीको घण्टी बजाई रहँदा कतिबेला हामी बाआमाले पछ्याउदै गरेको मार्गमा पुग्छौँ, त्यो कसलाई थाह हुन्छ र ?
बाल्यकालका सम्झनाले म कहिले भावनामा बग्छु, मीठा नमीठा क्षणले रोमाञ्चित बन्छु, तर वर्तमानको कर्तव्यबाट टाढा हुन भने सक्दिन, किनकी अहिले म पनि कसैको बा भएको छु । अनि एउटा बाको कर्तव्यबाट कसरी टाढा रहन सक्छु । पुराना स्मृतिका हरेक पललाई शब्दरुपी माला उनिरहेको छु । विगतका दुःखद क्षणले वर्तमानमा सुखद अनुभूति थपिदो रहेछ भन्ने महशुस भैरहेछ मलाई । लाग्छ त्योे बेलाको दुःखले अहिले लेखिएका संस्मरणहरु अरुका लागि प्रेरणादायी बन्न सक्छन् । वास्तवमा हामीलाई लेख्नको लागि विषयवस्तुको कमी छैन्, आफ्नै भोगाईलाई मात्र पनि लेख्न सक्यो भने धेरै पुस्तकहरु बन्छन् । ती पुस्तकहरु धेरैका प्रेरणाका स्रोत बन्ने गर्छन ।
म कहिल्यै खाली बस्न सक्दिन, केही न केही गरिरहन चाहन्छु । यो प्रेरणा मलाई बुबाबाटै प्राप्त भएको हो, बुबाका त्यो प्रेरणालाई म धर्तीबाट बिदा नहुन्जेल सम्मालेरै राख्छु । र, त बुबाका हरेक शब्दलाई सन्देश ठानेर शब्दजालमार्फत यस्ता स्मृतिहरु लेखिरहेकोछु । बासँगका स्मृतिहरु लेख्दा मलाई अकै किसिमको उर्जा मिल्छ । बुबा नै अगाडि बसेर मेरा कुराहरु लेख भन्नु भए झैँ लाग्छ ।
स्कुल सकिए पछिको समय कसरी सदुपयोग गरौँ भनेर सोच्दै थिएँ । गाउँमा केशव ओझादाईले सिलाई सिकाउँदैछन् भन्ने कुरा साथी नवराज दाहालमार्फत थाह पाएँ । नवराजजीले पनि सिलाई सिक्ने चाहना भएको बताएपछि मलाई सजिलो भयो । र हामी दुबै केशवदाईको घरतर्फ गयौँ ।
‘ल केटा हो सिलाई सिक्ने भए भोलीदेखि आउनु, पैसा महिनाको बत्तीस रुपैयाँ लाग्छ है । ‘ भने ।
यही कुरा बुबालाई भने । बुबाले कहाँबाट खोजेर हो बत्तीस रुपैयाँ दिनुभयो । त्यसपछि मैले एकमहिना ढुक्कले सिलाई सिके । अर्को महिनामा भने बुबालाई दुःख दिइन किनकी सिलाई सिक्न म गइन । केशव ओझादाइले पयरकाल(खुट्टाले चलाउने मेशिन) कलकत्ताबाट लिएर आएका थिए । अहिले सम्झन्छु ओझादाइ त निकै क्रान्तिकारी पो रहेछन् । एउटा पुरोहितको छोराको त्यो कदम पक्कै पनि हामीले सराहाना गर्नैपर्छ । त्यसबेला त हामीले के बुझेका थियौ र अहिले सम्झदा उनी समाजका प्रेरणाका स्रोत रहेछन्, भन्ने ठानेको छु ।
सिलाई सिकेर पहिलो दिन म खाना खाएर बेसीँ झरे र, मलको डोको बोकेर खेतमा जादैँ थिएँ, बाटोमा मलाई दुईजना छिमेकीले नराम्ररी हप्काए- ‘थुक्क मुला बाहुनको छोरा भएर दमैको काम सिक्ने अबदेखि तेरो जात गयो ।’
मैले उहाँहरु जिस्केको होला भन्ने ठानेर केही जवाफ फर्काइन । मुसुक्क हाँसेर आफ्नो बाटो लागे । बेलुका बुबालाई सबै कुरा बताएँ ।
बुबाले भन्नु भयो–‘काम ठूलो सानो हुन्न, सक्यो जान्यो भने जसले गरे पनि हुन्छ । त्यसकारण अरुको कुरामा लाग्ने होइन, आफ्नो कर्म बलियो बनाउने हो ।’
हुनपनि मलाई बुबाले गर्ने कामप्रतिको सम्मान नै मन पथ्र्यो । कालान्तरमा मलाई गाली गर्ने ती दम्पत्तिका छोराहरुले सिलाई सिकेर काठमाडौँमा केहीवर्ष सिलाई प्रशिक्षण केन्द्र खोले । मलाई लाग्छ,हामीले कामलाई सम्मान गर्नुपर्छ, अनि हामी सम्मानित भएको महशुस हुन्छ । अहिले हाम्रो देशको मूल समस्या भनेकै यही छ, कामप्रतिको सम्मान छैन । त्यही काम विदेशमा राम्रो र स्वदेशमा लाज लाग्छ । यो शहरमा कामलाई सम्मान गर्न सिके मैले, हातमा केही सीप सिकें, बुबाका हरेक वाक्यलाई दिव्यज्ञान मानेर अहिलेपनि त्यही मार्गमा लागि रहेको छु ।
कर्मसँग जोडिएको अर्को प्रसङ्ग बाहुनले हलो जोत्न नहुने त्यो समयमा हामी भेडाबारी गएर राती बाह्रबजे गोरु नारेर जोत्याँै । दिउँसो त अरुले थाहा पाउँछन्, बबाल होला भन्ने डर । क्रान्तिकारी भयो भनेर अर्कै लन्ठा लाग्ने बेर थिएन, त्यसैले हामी एउटा समूह उतैको निमन्त्रणामा काम फत्ते गरेर फर्केका थियौँ । बाहुनले हलो जोत्यो भनेर पछि कत्रो बवाल झण्डै गाउँ निकालामा परिएन । अहिले सबै बाहुनहरुले हलो जोत्छन । यो समयको खेल हो, समयसँग कसैको केही लाग्दो रहेनछ । त्यसैबेला हामी चार पाँच जनालाई राती नै भेडावारीमा बोलाउँथे । पर्दाभित्रबाट एउटा मान्छे बोल्थ्यो । त्यो प्रशिक्षण कार्यक्रम रहेछ, पछि बुझियो । अन्तिममा पञ्चायती व्यवस्था मुर्दावाद भन्थ्यो, सानो स्वरमा हामीले पनि भन्नु पथ्र्याे । बिहानीपख कार्यक्रम सकिएपछि हामी आफ्नो घर फर्किन्थ्यौँ । लहलहैमै भएपनि केही यस्ता काम गरियो । तर यी सबै कुरा म बुबाको अनुमति लिएरमात्र गर्थे । बुबा केही नयाँ सिक्नुपर्छ भन्नु हुन्थ्यो । सोह्रवर्षको उमेरमै शहर पसियो । शहरमा सबै आफ्नै थाप्लोमा परेपछि सुखदुःखको अनुभूति बेग्लै हुँदो रहेछ । ठूला घरको ठूलै समस्या भनेझैँ शहरको समस्या झनै जटिल थियो । दुःखै भए पनि गाउँमा भोकै बस्नु पर्ने थिएन । यता शहरले कैयौ दिन भोकै राख्यो । चप्पल चुढिन्छ भनेर हातमा बोकेर शहरका सडकमा कैयौदिन खाली खुट्टा हिडियो । त्यसको लेखाजोखा नै छैन । तापनि शहरमा पसेपछि आजसम्म गाउँ फर्कने मौका मिलेकै छैन । गाउँ विर्सन सकेको पनि छैन, बुबा आमाका स्मरण झनै ताजा भएका छन् । यी र यस्तै लेख मार्फत मैले बुबाआमालाई सधैँ जीवित बनाउने कोशिस गरेको हुँ । आफू जलेर सन्तानलाई प्रकाश दिने मैनबत्ती हुनुहुन्थ्यो बुबा ।
बुबालाई सोध्न मन छ -‘तपाईका सन्तान सक्षम भएर देशविदेशमा गरेका चकचकी तपाईले कता बसेर हेर्देै हुनुहुन्छ ?’
मैले माथि नै उल्लेख गरेको छु, मलाई केही काम गर्न असाध्यै कठिन महशुस हुने गर्दथ्यो । त्यस मध्ये एउटा गहँु काट्ने र चुट्ने पनि हो । बेँसीमा सान्दाईकोे घर थियो, त्यहीँ खलो पनि थियो । काटेको गहुँ त्यहाँ ल्याएर चैत्र महिनाको मध्यान्नामा गहुँ चुटिरहेको थिएँ । दिदीहरु पनि थिए ।
सान्दाइ घरबाट निस्केर मलाई बोलाए । र, भने –‘थुक्क जाँठा, यत्रो पढेको मान्छेले पनि यस्तो घाममा गहुँ चुटेर बस्छ । बुद्धि नभाको, म चाहिँ यति पढेको भए बरु काठमाडौँमा गएर भाँडा माझ्थें, गाऊँमा यत्रो पनि यस्तो काम गर्ने थिइन् ।’
घामले टाउको चड्की रहेको बेलामा उनले झन उकेरा लगाए । मैले पनि मेरै लागि भनेका होलान भन्ने ठानें । बेलुका बुबालाई सबै कुरा भने ।
बुबाले पनि त्यही कुरा दोहोर्याउनु भयो -‘बाबु अब म तलाई पढाउन सक्दिन, धेरै भाइ छौँ, यहाँ बसेर के हुनु र अब तैले शहर गएर आफै पौरख गर्नुपर्छ, मलाई पनि भरथेक गर्नुपर्छ भाइहरुलाई पनि पढाउनु छ । दाइले भन्यो भनेर चित्त दुखाउने होइन, उसले भनेको कुरा ठीक हो अब म यसरी बस्दिन भनेर ईख लिनुपर्छ ।’
म उचित समयको पर्खाइमा थिएँ । बिरानो शहरमा यात्रा गर्नु, काम खोज्नु, धेरै कुराको चुनौति थियो । म जाने नै भएपछि बुबाले एकसय कताबाट खोजेर मेरो खल्तिमा हालिदिनु भयो । प्यारो गाउँ छोड्नु पर्दा आँखा रसाएँ । दाइ र भान्जा धुर्व्र शहरमै बस्थे, डेरा खोज्दै पुगें । केहीदिन कार्टुनमा मोजा राखेर बाटो बाटोमा बेच्दै हिँडे । बागबजारको टुकुचा पुलमाथि पनि मोजा बेचेर बसें । शहरको कथा धेरै छ । पहिलो पल्ट ६ महिना जागिर खाएँ । तलब सबै दाइले सामान लगेर कटाउने गर्थे । ६ महिना काम गर्दा पनि सुको हात नपरेपछि मैले जागिर छोडिदिए । त्यस पछि आफू एक्लै बानेश्वर डेरा सरे । काम खोजे ।
जेनतेन शहरले बाँच्न सिकायो । अहिले शहर मेरो लागि साथी भएको छ । धेरैले काठमाडौँलाई गाली गरेर सिर्जना गरेको देख्छु । म भने यो शहरलाई मायाले सुम्सुम्याउँछु । जसले गाउँको विरानो पनलाई मायाले त्यस वखत आश्रय दिएको थियो, अहिलेसम्म दिइरहेको छ ।