कोपन्हेगन । डेनमार्क निवासी कवि प्रकाश सापकोटाको कविता संग्रह ‘सन्नाटाका सुस्केरा’ को प्रवास विमोचन हिजो सम्पन्न भयो ।
डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले सापकोटाको कृति विमोचन गर्दै संग्रह भित्रको ‘शीत’ शिर्षकको कविता सवस्फूर्त वाचन समेत गर्नुभयो ।

कार्यक्रममा कवि सापकोटाले संग्रहभित्रबाट वाचन गरेका आफ्ना प्रत्येक तीन फरक कविताका आधारमा लेखक कृष्ण पौडेल, उदयराज गौतम, नील थापा, कमलराज शर्मा लगायतले समालोचनात्मक टिप्पणी गर्नुभयो ।
अनौपचारिक विवेचनात्मक छलफलमा दीपकराज रिजाल, नवीनराज पौडेल, बुद्धी सापकोटा, कृष्ण सागर, राधाकृष्ण(आरके) सापकोटा, रमेश घिमिरे, नारायण चापागाईँ लगायतले पनि विमोचित पुस्तक र वाचित कविताबारे आफूलाई लागेका कुरा निर्धक्क राख्नुभयो ।
आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डेनमार्क च्याप्टर रहेको कार्यक्रम समाजका सदस्य तथा नेपाली पाठशाला कोपन्हेगनका प्रशिक्षक दीपककुमार तिवारीले सहजिकरण गर्नुभएको थियो ।
समाजका च्यप्टर अध्यक्ष पूर्ण बस्नेतले समग्र कार्यक्रमको समीक्षा सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
‘सन्नाटाको सुस्केरा’लाई सुनकोसी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।